काठमाडौं, २५ साउन ।
कोरोना संकटले भर्ना प्रक्रिया अवरुद्ध हुँदा नेपाल प्रहरीमा १५ प्रतिशत दरबन्दी रिक्त छ । प्रहरीको ७९ हजार हजार पाँच सय ४३ दरबन्दीमध्ये करिब ६७ हजार मात्र कार्यरत छन्।
धेरै वर्षपछि यति ठूलो संख्या रिक्त भएको हो । प्रहरीको जिम्मेवारी थपिएको अवस्थामा जनशक्ति कम हुँदा धेरै एकाइमा तैनाथी र परिचालनमा समस्या देखिइसकेको छ । यहीवेला प्रहरी नै संक्रमित बन्न थालेकाले जनशक्ति अभाव देखिन थालेको छ ।
समयमा सरुवा र बढुवा हुन नसक्दा पनि ठूलो संख्यामा दरबन्दी रिक्त भएको हो । प्रहरीमा गत वर्ष निरीक्षक र सहायक निरीक्षकको भर्ना प्रक्रिया पूरा हुन सकेन । जवानका चार हजार पदमा पनि लिखित परीक्षा हुन सकेन । आयोगको यस वर्षको कार्यतालिकामा प्रहरीका रोकिएका परीक्षा कात्तिक र मंसिरमा गर्ने उल्लेख छ । यो आर्थिक वर्षको नयाँ भर्नाका लागि पनि साउन–भदौमै विज्ञापन प्रकाशित हुनुपथ्र्यो । त्यो पनि अन्योलमा परेको छ । नेपाल प्रहरीले जवानको ४ हजार ६६ पदमा भर्ना प्रक्रिया अघि बढाएकोमा लिखित परीक्षा हुन सकेको छैन । इन्सपेक्टर र असईको पनि परीक्षा रोकिएको छ ।
यस्तै, सेनाले तीनवटा विज्ञापनको लिखित परीक्षाका लागि आयोगलाई पत्राचार गरेको थियो, जुन हालसम्म सञ्चालन भएको छैन । सेनाको अधिकृत क्याडेटतर्फ लिखित परीक्षामा एक हजार २० जना छनोट भएका थिए । यस्तै, सैन्य तहमा एकैपटक ६ हजार ७६ जनाको भर्ना प्रक्रिया सुरु भएको थियो । समयमा भर्ना नहुँदा सशस्त्र प्रहरीका ३७ हजारमध्ये करिब चार हजार दरबन्दी रिक्त छन् । राष्ट्रिय अनुसन्धान विभागले दुई सय ३२ जना सूचक माग गरेकोमा झन्डै ४० हजार आवेदन परेको थियो ।