काठमाडौं, २७ साउन । नेपालमा मान्छे मारेको भन्दा वन्यजन्तु मारेकोमा धेरै जेल बस्नुपर्छ । कानून यस्तो छ कि मान्छे मारेको अपराधमा कैद सजाय छुट हुन्छ । तर, वन्यजन्तु सम्बन्धि अपराधमा कैद छुट हुँदैन ।
तर, यो कानून वन्यजन्तु तस्करीमा संलग्न ‘भरिया’ तहका व्यक्तिलाई मात्र लागू हुन्छ । ठूला अभियुक्तहरु भने सहजै छुट्ने गरेका छन् । खासगरी वन्यजन्तु तस्करीबाटै करोडौं कमाएका नाइकेहरु अदालतबाट धमाधम छुटिरहेका छन् । जेलबाट छुटेपछि कतिपय त फेरि यस्तै धन्दामा लागेको प्रहरी आशंका छ ।
अहिलेसम्म पक्राउ परेका सबैभन्दा ‘हाइप्रोफाइल’ वन्यजन्तु तस्कर हुन् कुन्जोक लामा । १५ वर्षदेखि फरार रहेका उनी नेता र उच्च प्रहरी अधिकारीकै संरक्षणमा थिए । गत १० असारमा बौद्धबाट पक्राउ परेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् । तर, उनी आफू कुन्जोक लामा नै नभएको भनेर छुट्ने प्रयासमा छन् । जिल्ला अदालतको आदेशविरुद्ध उनी यतिबेला उच्च अदालत पाटन गएका छन् ।
अहिलेसम्म पक्राउ परेका सबैभन्दा ‘हाइप्रोफाइल’ वन्यजन्तु तस्कर हुन् कुन्जोक लामा । १५ वर्षदेखि फरार रहेका उनी नेता र उच्च प्रहरी अधिकारीकै संरक्षणमा थिए । गत १० असारमा बौद्धबाट पक्राउ परेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् । तर, उनी आफू कुन्जोक लामा नै नभएको भनेर छुट्ने प्रयासमा छन् । जिल्ला अदालतको आदेशविरुद्ध उनी यतिबेला उच्च अदालत पाटन गएका छन् ।
भारतबाट अवैधरुपमा बाघका छाला तथा हड्डी नेपाल ल्याएर तिब्बती तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका उनी नाइके भएको प्रहरी अधिकारीहरु बताउँछन् । फरार रहेकै अवस्थामा उनले करिब २ अर्बको बैंकिङ कारोबार गरेको खुलेको छ ।
२०६२ सालमा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा उनको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यसबेला रसुवाको स्याफ्रुबेंशीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवाका छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँच जना पक्राउ परेका थिए । नेपाली सेनाको चेकिङमा उनीहरु पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा त्यसमा कुन्जोकको संलग्नता खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । सिआईबीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा १३ असारमा मुद्दा दायर भएको थियो ।
कुन्जोकको पक्राउलाई अन्तर्राष्ट्रिय स्तरमै वन्यजन्तु अपराध विरुद्ध महत्वपूर्ण सफलता मानिएको छ । उनलाई पक्राउ गर्न ठूलै प्रयास भएको थियो । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले समेत उनको सूचना संकलन गरी नेपाललाई पठाउँदै आएको थियो । वन्यजन्तु तस्करीको विभिन्न अन्तर्राष्ट्रिय गिरोहमा उनको संलग्नता देखिएको भन्दै इन्टरपोलले सूचना दिने गरेको थियो । ‘मोष्टवान्टेड’ भए पनि उनी अमेरिकादेखि विभिन्न देश पुग्ने गरेका थिए । प्रहरीले कुन्जोन लामाको नाममा उनलाई खोजी गरिरहेको थियो । तर, उनले कुन्जोक छिरिङ तामाङको नामबाट नागरिकता बनाई कारोबार गरिरहेका थिए । १५ वर्षपछि कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको पुष्टि भएको छ । तर आफु अर्कै कुन्जोक भएको भन्दै उनले चलखेल गरिरहेका छन् । उनको चलखेलमा केही नेताहरुले समेत साथ दिएका छन् ।
त्यतिखेर उनले प्रयोग गरेको सिमकार्ड अहिले पनि उनले प्रयोग गर्दै आएको खुलेको छ । अभियुक्तहरुले बयानमा बताएको मोबाइल नम्बर अहिले पनि उनले प्रयोग गर्दै आएका थिए । सिमकार्ड लिनेबेला प्रयोग गरिएको हस्ताक्षर र बैंकमा प्रयोग भएको हस्ताक्षर एउटै छ । विगतमा उनको वास्तविक नाम र ठेगाना पत्ता नलाग्दा इन्टरपोलबाट रेड नोटिस पनि जारी हुनसकेको थिएन । त्यतिबेला राष्ट्रिय निकुञ्जका कर्मचारीले समेत वास्तविक नाम पत्ता लगाउने प्रयास नगरी उनलाई उन्मुक्ति दिने प्रयास गरेको स्रोत बताउँछ ।
पक्राउ पर्ने डरले केही महिनायता उनी आफ्नो घरमा समेत बस्न छाडेका थिए । साथीहरुसँग जमघट तथा जुवा खेल्न मात्र कहिलेकाही घरमा जाने गरेको खुलेको छ । उनीसँग करोडौंको सम्पत्ति रहेको र त्यसैको आडमा उनी यतिबेला छुट्ने चलखेलमा छन् ।
भारतमा पनि उनी मोष्ट वान्टेड छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तर प्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बाघको छाला बरामद भएकोमा त्यसको तस्करीको नाइके उनी भएको खुलेको थियो । सोही आधारमा भारतले पटक पटक नेपालसँग उनलाई पक्राउबारे छलफल गरेपनि उनी फेला परेका थिएनन् ।
उनी करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका –६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै रहेकोमा कान्छी श्रीमतीसँग जोरपाटीमा बस्दै आएका थिए । प्रहरीदेखि केही नेताहरुसँग समेत उनको निकट सम्बन्ध देखिएको प्रहरी स्रोत बताउँछ । उनी पक्राउ परेपछि सो गिरोहका रहेका अन्य व्यक्तिहरुमाथि अनुसन्धान अघि बढेको छ । जसमध्ये केही अमेरिकामा बस्दै आएको खुलेको छ । वन्यजन्तुसम्बन्धि अपराधमा नेपालमा अहिलेसम्म यति उच्च तहको व्यक्ति पक्राउ नपरेको प्रहरी अधिकारीहरु बताउँछन् । इन्टरपोलले पनि उनको अन्तर्राष्ट्रिय नेटवर्कमाथि थप अनुसन्धान अघि बढाएको सिआईबीका एक अधिकारीले बताए ।
पैसाकै बलमा छुटेका लोडु डिमे
२८ पुस २०६९ मा सात वटा बाघको छाला, सात बोरा हड्डी तथा एक सय ११ वटा बाघको दाँतसहित दुई युवक नुवाकोटको ककनीमा पक्राउ परे । रसुवा हुँदै वन्यजन्तुका अंग चीन तस्करीको प्रयासमा पक्राउ परेका ती व्यक्तिहरु भरिया मात्र थिए । पक्राउ परेपछि उनीहरुले भने‘लोडु डिमे दाईले हामीलाई यो सामान ओसार्न लगाएका हुन् ।’ प्रहरीले डिमेको बौद्धस्थित घरमा छापा हान्यो । जहाँ थप आखेटोपहार बरामद भयो । उनको श्रीमतीलाई पनि पक्राउ ग¥यो । तर, गिरोहका नाइके डिमे पक्राउ परेनन् ।
डिमे विदेशमा लुकेको पत्ता लाग्यो । पाँच वर्ष लामो प्रयासपछि प्रहरीले २०७४ सालमा डिमेविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरायो । उनी भारतमा बस्दै आएको थाहा पाएपछि भारतीय प्रहरीसँग सहकार्य उनी उनलाई पक्राउ गरेर २१ फागुन २०७४ मा नेपाल ल्याइयो । तर, चार महिनौ उनी जेलमुक्त भए ।
सुरुमा उनलाई जिल्ला वन कार्यालयले उपस्थित नै नभई एक लाख रुपैयाँ मात्र जरिवानाको फैसला गरेको थियो । पछि पुनरावेदन अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो । २९ असार २०७५ मा सर्वाेच्च अदालतले एक वर्षको कैद बराबर ९ हजार रुपैयाँका दरले धरौटी लिएर छाड्ने निर्णय ग¥यो । त्यसलगत्तै भारत भागेका डिमे नेपाल फर्किएका छैनन् । उनको मुद्दाको फैसला पनि भएको छैन । वन्यजन्तु तस्करीबाटै कमाएको पैसाले उनले भारतमा व्यापार विस्तार गरिरहेका छन् । भारतमा उनको उठबस केही मन्त्रीहरुसँगै छ ।
पैसाको बलमा उम्कने उनी एक्ला व्यक्ति होइनन् । नेपालमा वन्यजन्तुको तस्करीमा संलग्न गिरोहका नाइकेहरु सजिलै छुटेका छन् । पाँच वर्षअघि बर्दियामा पक्राउ परेका बाघ तस्करी गिरोहका एक नाइके पनि गत २३ बैशाखमा छुटेका छन् । पाटे बाघको चोरी शिकारी गर्ने समूहका नाइके जसु बाबरिया पाँच वर्षकै छुटेका हुन् । उनी २२ बैशाख २०७२ मा पक्राउ परेका थिए । नेपालको बाँके तथा बर्दियामा समेत बाघ मारेका थिए । यस्तो अपराधमा ५ देखि १५ वर्षसम्म कैद सजाय हुनेमा अदालतले न्यूनतम मात्र सजाय गरेपछि उनी छुटेका हुन् । भारतमा समेत उनी मोष्ट वान्टेड व्यक्ति हुन् । उनी छुटेपछि फेरि बाघको चोरी शिकारीमा लाग्नसक्ने प्रहरीको चिन्ता छ ।
२८ माघ २०६८ मा कैलालीमा बाघको चोरी शिकारी र तस्करी गर्ने श्रवण बाबरियाको समूह पक्राउ परेको थियो । ४० वटा बाघको हड्डी तथा दुई वटा छालासहित पक्राउ परेका उनीहरुमध्ये पाँच जना १÷१ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । लगत्तै उनीहरु भारत भागेकोमा अहिलेसम्म फेला परेका छैनन् । पछि पुनरावेदन अदालतले उनीहरुलाई ५÷५ वर्ष कैद सजायको फैसला गरेको थियो ।
पैसाकै बलमा सजिलै उम्किएका अर्का वन्जयन्तु तस्कर हुन् पेम्बा शेर्पा । २५ असार २०६१ मा उनी चितवनको आँपटारीमा गैंडाको ५ वटा खागसहित पक्राउ परेका थिए । गम्भीर मुद्दामा उनी त्यसबेला सहजै एक लाख रुपैयाँ धरौटीमा छुटे । पछि तत्कालिन पुनरावेदन अदालत हेटौँडाले उनलाई १५ वर्ष कैद सजाय सुनायो । त्यसबेलासम्म उनी अमेरिका भागिसकेका थिए । अहिले पनि अमेरिकामै रहेका उनीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरीसकेको छ । तर, नेपाल ल्याउन सकेको छैन ।
नेपाल वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय ट्रान्जिट हो । खासगरी भारतबाट नेपाल हुँदै चीनमा वन्जयन्तुका अंग तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । यस्ता गिरोहका नाइकेसम्म पुग्न धेरै दुःख गर्नुपर्ने प्रहरी अधिकारी बताउँछन् । तर, वर्षाै लगाएर विदेशबाट समेत पक्राउ गरी ल्याइएका व्यक्तिहरु अदालतबाट सहजै छुट्न थालेपछि प्रहरी अधिकारीहरुको मनोबल खस्किएको छ । साथै उनीहरुको सम्पत्ति छानबिनमा पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले चासो दिएको छैन ।