काठमाडौं, २७ साउन । नेकपा सरकारमा कांग्रेस निकट कर्मचारीहरु हाबी हुन थालेका छन् । हिजो कांग्रेसको सरकार हुँदा सेटिङमा खप्पिस कर्मचारीहरु अहिले नेकपाका मन्त्रीहरुका प्रिय भइरहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रहेका बसन्त अधिकारी विगतमा कांग्रेस मन्त्रीहरुलाई खुशी बनाई यातायात कार्यालयहरुमा अकुत कमाएका कर्मचारी हुन् । अहिले संघीय मामिला मन्त्रालयले नै उनले चलाएका छन् । सचिव सूर्य गौतम भन्दा उनी पावरफुल रहेको चर्चा मन्त्रालयमा छ । खासगरी कर्मचारीको सरुवामा मन्त्री हृदयेश त्रिपाठीलाई उनले नै सेटिङ मिलाउने गरेको स्रोत बताउँछ । अहिले उनकै सेटिङका आधारमा धमाधम स्थानीय तहका प्रशासकीय अधिकृतहरुको सरुवा भइरहेको छ । एकैपटक स्थानीय तह र प्रदेशमा सरुवा गर्नुपर्नेमा सेटिङका कारण थोरै थोरै संख्यामा सरुवा भइरहेको छ । केही ट्रेड यूनियनका नेतालाई समेत हात लिएर उनले मन्त्रालयमा धन्दा चलाइरहेका छन् । चरम चलखेल भएका कारण यसअघि मन्त्रालयले गरेको सहसचिवको सरुवा पनि विवादमा तानिएको थियो ।
अन्य मन्त्रालयमा पनि प्रवक्ताको जिम्मेवारीमा विगतमा कांग्रेस निकट रहेका कर्मचारीहरु छन् । अर्थ मन्त्रालयका प्रवक्ता रहेका उत्तर खत्री ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री हुँदा उनका प्रिय थिए । शंकर कोइरालाको पनि पिए भएर काम गरेका थिए । अहिलेका अर्थमन्त्री डा.युवराज खतिवडाको पनि उनी प्रिय बनेका छन् ।
त्यस्तै कांग्रेस निकट कर्मचारी यूनियनका सल्लाहकार नै रहेका किरण शर्मालाई हालै सूचना विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । पर्यटन मन्त्रालयको प्रवक्ता रहेका किरण भट्टराई पनि कांग्रेस निकट कर्मचारी भनेर पहिचान बनाएका व्यक्ति हुन् । सेटिङका कारण पार्टी निकट र क्षमतावान कर्मचारीहरु समेत पछिल्लो समय पाखा लागेका छन् । त्यसो त मुख्यसचिव लोकदर्शन रेग्मी नै कांग्रेसनिकट कर्मचारी हुन् । शेरबहादुर देउवाले मुख्यसचिव बनाएका रेग्मीलाई प्रधानमन्त्री ओलीले निरन्तरता दिएका छन् ।