Logo
Logo

कोरोनाबाट थप ४ को मृत्यु, उपत्यकामा थपिए १२७ संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् ।
यस्तै, नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्