Logo
Logo

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ साउन । नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा शुक्रबार स्वीकृत गर्नुभयो । नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा शुक्रबार मन्त्रालयबाट स्वीकृत गरिएको हो ।

विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक÷प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो । सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्व जगत्मा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ । त्यसैले उक्त प्रयोजनका लागि अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जानकारी दिएको छ । अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसंघ, कूटनीतिक नियोगहरु, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्रसंघ, विभिन्न कूटनीतिक नियोग, समग्र अन्तर्राष्ट्रिय समुदायमा पठाउनका निम्ति बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्