Logo
Logo

राहत प्याकेज घोषणा गर्न सरकारसँग नेकपाको माग


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बाढी पहिरोले बाजुरामा पुर्याएको क्षति विवरणसहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुढीगंगा नदीमा आएको बाढी र पहिरोका कारण पुर्याएको मानवीय र भौतिक क्षति विवरणसहित तीन पृष्ठ लामो ज्ञापनपत्र बुझाएको हो ।
असार २९ गतेदेखि साउन २६ गतेसम्म जिल्लामा बाढीपहिरोका कारण भएको क्षति विवरणसहित ज्ञापनपत्र बुझाएको नेकपा कार्यालय सदस्य गगन रावलले बताए । २०७२ सालमा आएको विनासकारी महाभूकम्पबाहेक जिल्लामा ५९ वर्षपछि ठूलो भौतिक क्षति पुगेको ज्ञापनपत्रमार्फत स्मरण गरेको छ ।


नेकपाले एक महिनाको अन्तरालमा प्राकृतिक विपतमा परि तीन जनाको ज्यान गएको, एक जना बेपत्ता भएको, ११४ परिवार विस्थापित बनेको, ३३१ परिवार उच्च जोखिममा रहेको, ५५ घर पूर्ण र ७० घर आंशिक क्षति भएको, १३ वटा गाई, २ वटा भैँसी, ३ वटा बाख्रा, १ सय वटा कुखुरा, ३ वटा बंगुर मरेर क्षति भएको विवरण उल्लेख गरेको छ ।
बाढी पहिरोकै कारण बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, बुढीगा नगरपालिका सहीतका क्षेत्रमा १५ सय ९० हेक्टर खेती योग्य जमिन क्षति भएको, २ वटा पक्की पुल, ६ वटा झोलुगें पुल पूर्ण रुपमा क्षति भएको र २७ वटा साना उद्योगमा क्षति पुगेको विवरण सहीत ज्ञापन पत्र बुझाएको नेकपा पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् ।
नेकपाले अस्तव्यस्त बनेको जीवन सहज बनाउने गरी राज्य जिम्मेवार र तत्पर हुनु पर्ने माग गरेको छ । गौमुल सिमका २० परिवार र अजयटोट्की गाउँमा हेलिकप्टरकै प्रयोग गरेर तत्काल राहत उपलब्ध गराउनु पर्ने, बडिमालिका र गौमुलका बाढी पहिरो विस्थापित र प्रभावितलाई क्षति विवरणका आधार राहत, उद्दार र पुर्नस्थापना गरिनुपर्ने माग अघि सारेको छ ।
जोखिममा रहेको पीलुचौरको कर्णाली नदीको पुल, साँफे मार्तडी सडकको सञ्चालन, उपभोग्य समान ढुवानी सहजता लगायतमा विषय राज्य संवेदनशिल हुन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बडिमालिका २ मा रहेका घागर र भौनेराको पुल, गौमुल १, २ र ६ नम्बर वडामा रहेका पुल, बडिमालिका ६ को सल्लेना जाने पुल, बडिमालिका ४ र ५ को रुघाखोला पुल बडिमालिका ६ कै पानीनाउलाको पुल उच्च जोखिममा रहेकोले पुन निर्माण तथा मर्मतका लागि काम अघि बढाउन आग्रह गरेको छ ।
जवाफमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले केही मागहरु जिल्लास्तरबाटै समाधान गर्नेकाम भइरहेको र केही केन्द्रसँग सहकार्य गरिरहेको बताएका छन् । हेलिकप्टर आउने कुरा मौसमका कारण सम्भव नभएको र मौसम तत्काल नखेल्ने अवस्था आए जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसाएर विकल्पबारे निर्णय गर्ने अधिकारी गैह्रेको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेकपा प्रदेश कमिटी सदस्य एवं संविधान सभा पुर्वसदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटी सदस्य कमल कुमारी शाह, नेकपा नेताहरु गगन रावल, भरत थापा, अमर खड्का, काशी विक, मनबहादुर विक, विनोदकुमार विक, गोरख सार्की, तुलाराम जैशी, जानकी रोकाया, परे बडुवाल, धनबहादुर बोहरालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्