काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकको निर्देशनलाई लत्याउँदै ग्लोबल आईएमई बैंकले चार्टर्ड एकाउण्टेण्ट तथा बैंकर रत्नराज बज्राचार्यलाई हिजोदेखि सीईओमा नियुक्त गरेको छ । केन्द्रीय बैंकले तोकेको उमेरहद नाघेका बज्राचार्यलाई एकीकृत निर्देशन विपरित हुने गरी ग्लोबलले नयाँ सीईओमा नियुक्त गरेको विषयलाई सबैले आश्चर्य मानेका छन् ।
राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनमा ‘२०७८ असार मसान्तभित्र गाभ्ने वा गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरू एकआपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनः नियुक्त हुन बाधा पर्ने छैन’ भनिएको छ ।
यसबीचमा ग्लोबल बैंक अर्को कुनै वाणिज्य बैंकसँग मर्ज नै नभएको अवस्थामा उक्त निर्देशन आकर्षित नहुनेमा अधिकांश बैंकर सहमत छन् । उनीहरूका अनुसार ग्लोबल बैंकसँग जनता बैंक गत वर्ष मर्ज भएका हुन् । यस पटकको निर्देशनले अघिल्लो वर्षको मर्जरलाई नसमेट्ने भएकाले रत्नराजको नियुक्ती स्वतः निर्देशन विपरित भएको बताइएको छ ।
यस सम्बन्धमा राष्ट्र बैंकका अधिकारीहरू बज्राचार्यको नियुक्तीको बोधार्थ आएपछि मात्र भन्न सकिने बताउँछन् । उनीहरूका अनुसार ‘ठाडो हिसाबले उनलाई नियुक्त गर्न मिल्दैन । तर, ग्लोबल बैंकले कुन पदमा नियुक्ती गरेको र उनको जन्म मिति के हो भन्ने विषय पत्र प्राप्त भएपछि मात्र जानकारी हुने भएकाले एकाध दिनपछि बैंकले धारणा सार्वजनिक गर्नेछ ।’ स्रोतका अनुसार रत्नराज ६७ वर्ष उमेरका भइसकेका छन् ।