Logo
Logo

नेकपामा अस्थायी ‘युद्धविराम’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेर तत्कालका लागि जोगिएको छ । टरेको संकटले केही आशा दिलाए पनि भित्री विवाद मिलिसकेको भने छैन । अब नेकपा विवाद समाधानका लागि गठित छ सदस्यीय कार्यदलले तयार गर्ने खाका र नेताहरुले गर्ने राजनीतिक लेनदेनले भविष्यको बाटो तय गर्नेछ । तर, यसबीच विकास भएको घटनाक्रम र नेकपा नेतृत्वको गिरेको साखले भविष्यमा ठुलो असर पार्ने निश्चित छ । अर्कोतर्फ, नेकपा विवादबीच परिवर्तनविरोधी देखि बाह्य शक्तिले प्रशस्त खेल्ने मौका पाइसकेका छन् । जसको परिणाम भविष्यमा देखिनेमा कुनै शंका छैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै हठका कारण रक्षात्मक अवस्थामा पुगेपछि ‘लाज’ छोप्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । एक प्रकारले यो अस्थायी ‘युद्धविराम’ हो ।

नेकपा विवादबीच परिवर्तनविरोधी देखि बाह्य शक्तिले प्रशस्त खेल्ने मौका पाइसकेका छन् । जसको परिणाम भविष्यमा देखिनेमा कुनै शंका छैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै हठका कारण रक्षात्मक अवस्थामा पुगेपछि ‘लाज’ छोप्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । एक प्रकारले यो अस्थायी ‘युद्धविराम’ हो ।

नेकपालाई नेपाली जनताले विश्वास गरेर २०७४ सालमा भारी मतसहित देश हाँक्ने जिम्मेवारी दिए । नेपालको इतिहासमा २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली काँग्रेसलाई दुई तिहाई मत दिएका थिए । २०१६ सालमा वीपी कोइराला दुई तिहाई सरकारका प्रधानमन्त्री बनेका थिए । त्यसयता कुनैपनि सरकार दुई तिहाईको बन्न सकेको थिएन । माओवादीसँग पार्टी एकता भएपछि नेकपा दुईतिहाइको सरकार बनाउन सफल भयो । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली गरी झण्डै दुईतिहाइ स्थानमा जित हासिल गर्नु र दुई तिहाईको सरकार बनाउनु आफैमा ठुलो सफलता थियो । जनादेश नेकपाको पक्षमा मात्र गएन, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस पनि खुम्चियो । केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बने । तर, उनीबाट जे आशा जनताले गरेका थिए, त्यो महसुस गर्न सकेनन् । भित्रभित्र जनताको असन्तुष्टि भुसको आगो जस्तै सल्किरहेकोमा ओली स्वयं अनभिज्ञ छन् ।

सँसार नै कोरोना भाइरसको महामारीसँग जुध्दा सत्तारुढ नेकपा आन्तरिक सत्तासंघर्षमा रुमल्लियो । जनताको पीडा सुन्ने र सहयोग गर्न जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने समयमा नेकपाभित्र कुर्सीको लडाईं चल्यो । विगत चार महिना ओली सत्ता जोगाउनमा बढी केन्द्रित भए । उनले पार्टीभित्रका प्रतिष्पर्धीलाई साथमा लिएर जानुपर्नेमा अप्ठ्यारोमा पार्दै वाध्यात्मक अवस्था सृजना गरी नै रहे । एकले अर्कालाई घेर्ने र सत्ताबाट झार्ने कसरतमै नेकपाका नेताहरुको चार महिना खेर गयो । न त देशमा कुनै उल्लेख्य र प्रगतिको नयाँ राजनीतिक परिस्थिति सृजना भयो, न त नेकपा बलियो नै भयो । बरु निरन्तर क्षयीकरणको दिशामा नेकपा बढ्यो । नेताहरुमाथि पदलोलुप देखि नैतिकताको प्रश्नहरु उठे । देश महामारीसँग संघर्ष गरिरहँदा सत्ताको संघर्षमा लागेको गम्भीर आरोप लाग्यो ।

नेकपाको विवाद मन्त्रिमण्डल पुर्नगठन, मुख्यमन्त्रीहरु केही हेरफेर र संवैधानिक आयोगहरुमा रिक्त पदमा नियुक्तिको बाँडफाँडमा टुंगिने संकेतहरु मिलेको छ । हिजो बालुवाटारमा नेकपा सचिवालय बैठक सकिएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाउनुमा संवैधानिक आयोगमा रिक्त पदहरुमा बाँडफाँडको विषय रहेको बुझिएको छ । प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवा एक ठाउँमा बस्नुमा देशको दुरगामी हितको कुनै चिन्तन या निर्णय थिएन । बरु कुन पदमा कस्को कति मान्छे भर्ति गर्ने भन्ने विषय केन्द्रित थियो । विशेषगरी अख्तियारको आयुक्तको रिक्त पदमा तीनैजना नेताको दाबी रहेको छ । यसबाट पनि यी तीनजना नेताहरुको ध्यान शक्ति सञ्चय र नियुक्तिमा बढी केन्द्रित छ । जनतामा यति धेरै नैराश्यता छ कि आत्महत्या र हत्याका डरलाग्दा घटनाहरु शृंखलावद्ध रुपमा भइरहेका छन् । यतिसम्मकी साउनको तेस्रो हप्ता ललितपुरमा १० वर्षका बालकले आत्महत्या गरेका छन् । यो नैराश्यकताको पराकाष्ठको परिणाम हो । जसप्रति राजनीतिक नेतृत्व उदासीन छ ।

चाडपर्व नजिकिदै छ । जनताको भकारी रित्तिदै छ । कोरोना महामारीले कतै लकडाउन त कतै सटडाउन छ । यस्तो संकटमा पनि जनता कर तिर्न बाध्य छन् । तर, कहाँबाट ल्याएर कर तिर्ने ? त्यो बाटो सरकारले देखाउन सकेको छैन । जनताको सेवक बन्नुपर्ने राजनीतिक नेतृत्व मालिक जस्तै बनेर अर्थमन्त्री युवराज खतिवडाले ठाडो निर्देशनहरु दिइरहेका छन् । बरु ठुलो परियोजनाहरुमा अनियमितताहरु बढेको छ । स्वास्थ्य सामाग्री खरिद देखि सेनाले हात हालेको फाष्ट ट्रयाकमा परामर्शदाता छनोट विवादमा परेको छ । राजनीतिक हस्तक्षेप र अनियमितताको गन्धले देशको राजनीति नै दुर्गन्धित हुनपुगेको छ । गणतन्त्र स्थापनायता देशको राजनीतिमा यो हदको अराजकता र ठुला अनियमितता कहिले सुनिएको थिएन । विगतमा करोडमा हुने भ्रष्टाचार अहिले अर्बमा पुगेको छ । तर, सत्ताको चुरिफुरिले नेताहरु कसैले केही गर्न सक्दैन भनेर फुर्किरहेका छन् । विगतमा प्रत्यक्ष सत्ता हातमा लिएका राजा ज्ञानेन्द्र र उनका आसेपासे पनि यस्तै चुरिफुरि झिक्थे । माइतीघर मण्डलामा तत्कालिन राजाको पक्षमा मैनवत्ती बाल्दा सिंगो देशमै दीप प्रज्ववलन भएको प्रोपोगान्डा मच्चाएर दरबारलाई खुशी पार्नेहरु पनि थिए । त्यही भ्रमलाई पत्याउँदा राजसंस्था नै अन्त भएको इतिहास साक्षी छ ।

अहिले कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली म नैं राज्य हुँ र मबाहेक अरु कोही सक्षम छैन भनी भ्रमको टेकोमा उभिएर बालुवाटारमा विराजमान छन् । देशको दुरदराजका पीडा र जनतामा व्याप्त असन्तुष्टिबारे सुन्ने सम्म चाहना राखेका छैनन् । जिद्धि र हठले ओलीलाई कमजोर बनाउँदै लगेको छ । उनको कार्यशैलीले दक्षिणपन्थी शक्ति एकतृत हुँदै गएका छन् । उनीहरु योजनावद्ध तरिकाले कम्युनिस्टलाई कमजोर पार्ने र परिवर्तन उल्टाउन सक्रिय भएका छन् ।

अहिले कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली म नैं राज्य हुँ र मबाहेक अरु कोही सक्षम छैन भनी भ्रमको टेकोमा उभिएर बालुवाटारमा विराजमान छन् । देशको दुरदराजका पीडा र जनतामा व्याप्त असन्तुष्टिबारे सुन्ने सम्म चाहना राखेका छैनन् । जिद्धि र हठले ओलीलाई कमजोर बनाउँदै लगेको छ । उनको कार्यशैलीले दक्षिणपन्थी शक्ति एकतृत हुँदै गएका छन् । उनीहरु योजनावद्ध तरिकाले कम्युनिस्टलाई कमजोर पार्ने र परिवर्तन उल्टाउन सक्रिय भएका छन् । भित्र भित्र पाकिरहेको त्यो खिचडीलाई ओलीले हल्का रुपमा लिएका छन् । कुनैबेला बाबुराम भट्टराईहरु भद्रकालीमा जनयुद्धको धम्की दिई धर्ना बस्दा ठट्टाको विषय बनाउनेमा कम्युनिस्ट नेता नै थिए । तर, उनै भट्टराईहरुले जनयुद्ध गरेर नेपालको राजनीतिक प्रणालीलाई नै उल्टाइदिएको इतिहास साक्षी छ । अहिले दक्षिणपन्थीहरुको रणनीतिक चलखेललाई कम्युनिस्ट र काँग्रेसको उदारवादी समुहले हल्का रुपमा लिइरहेको छ । आफ्ना अलोकप्रीय कार्यले गिरिरहेको साखबारे बेवास्ता गर्दै झन् विवादास्पद काममा लागिरहेका छन् । यसले दक्षिणपन्थीलाई नेपालमा बलियो बन्ने जग तयार गर्दैछ ।

अहिले विश्व राजनीतिमा दक्षिणपन्थीहरुको बाहुल्यता छ । छिमेकी भारतमा नरेन्द्र मोदी हिन्दुवादी पहिचानका साथ बलियो भएका छन् । सियारामको नाममा उनी झन् बलियो भएका छन् । रुसमा भ्लादिमिर पुटिन हुन् या अमेरिकामा हार्डलाइनर राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन छँदैछ । चीनमा पनि सी चिनफिङ कठोर नीति लिने राष्ट्रपतिका रुपमा परिचित छन् । यसरी विश्वभर दक्षिणपन्थी धार बलियो भइरहँदा नेपालमा योजनावद्ध तरिकाले दक्षिणपन्थी जरा गाड्दै गरेका छन् । नेपाली जनताले धेरै आशा गरेको कम्युनिस्ट सरकारको कार्यशैलीले उत्पन्न जनअसन्तुष्टिले उनीहरुलाई मलजल दिइरहेको छ ।

नेकपाभित्रको सत्तासंघर्षले साख गिर्दा सबैभन्दा बढी फाइदा दक्षिणपन्थी शक्तिले लिएका छन् । जनता कम्युनिस्टप्रति चिढिने अवस्था बनेको छ । कतै जनताले अहिलेको राजनीतिक प्रणालीको विकल्प शक्ति त खोज्ने होइनन् भन्ने अवस्था नबन्ला भन्न सकिदैन । राजनीतिक दलहरुप्रतिको असन्तुष्टिको विकल्प राजनीतिक दल नै हुन् । तर, दलहरुभित्र पनि दक्षिणपन्थी धार मजबुत बन्ने अवस्था सृजना भइरहेको छ । विशेषगरी काँग्रेसभित्र त्यस्तो धारले ऊर्जा पाइरहेको छ । यसरी दक्षिणपन्थी गठजोठको अवस्था तयार भइरहँदा ओली आफूलाई नेपालमा अहिलेसम्म नजन्मिएको बलियो प्रधानमन्त्री ठानिरहेका छन् । राज्य संयन्त्रमा जताततै आफ्नो नियन्त्रण कायम छ भन्ने भ्रममा छन् । तर, स्वार्थी कर्मचारीतन्त्रले ओलीलाई पूरै असहयोग गरेका छन् । यी तथ्यहरु सत्ताको पट्टी लगाएका ओली र उनका सल्लाहकारहरुले बेलैमा मनन गरेनन् भने, परिवर्तन नै धरापमा पर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्