काठमाडौं, ३ भदौ । सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने तयारी गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापीरुपमा मनाउन संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने तयारी भइरहेको बताउनुभएको हो । बुधबार ललितपुरमा आयोजित मर्यादित महिनावारीसम्बन्धी ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठमुक्त’ बनाउने घोषणा पनि गर्नुभयो । त्यसका लागि नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
सरकारले छाउगोठजस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको छ । मन्त्री गुरुङले यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने कामलाई अघि बढाएको पनि बताउनुभयो । ‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउन सरकार लागिपरेको छ’, मन्त्री गुरुङले भन्नुभयो, ‘सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघसंस्थालाई आह्वान गर्दछु ।’ त्यस अवसरमा मन्त्री गुरुङले समाजमा विद्यमान लैंगिक विभेद अन्त्यका लागि ‘लैंगिकमैत्री नीति’ निर्माण गर्ने कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सामाजिक अभियन्ता राधा पौडेल, पशुपति कुँवरलगायतले छाउगोठजस्ता सामाजिक कुरीतिको अन्त्यका लागि मर्यादित महिनावारीको कामलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र कार्यविधि बनाउने काम सुरु भएकामा खुशी व्यक्त गर्नुभएको थियो ।