Logo
Logo

स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति र उपराष्ट्रपतिद्वारा आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो ।

“यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने मेरो विश्वास छ”, सन्देशमा भनिएको छ, “हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।”

राष्ट्रपति भण्डारीले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक र जातीय विभेद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वव्यापी महामारी कोरोना भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आपिल गर्नुभएको छ । कोेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल गर्दै उपराष्ट्रपतिले कोरोनाको संक्रमणबाट जोगिन नागरिक आफै पनि सचेत र जिम्मेवार हुन आवश्यक रहेको बताउनुभएको छ ।

सबै नेपाली एकजुट भएर धैर्यतापूर्वक कोराना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनैतहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बनाउन जोड दिनुभएको छ ।

कोरोना सङ्क्रमणबीच थुप्रै सांस्कृतिक तथा धार्मिक चाडपर्व आएका र यसबाट परिस्थितिअनुसार चाडपर्व मनाउनुपर्दछ भन्ने पाठ पनि सिकेको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने र आगामी वर्षमा तीजलगायतका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु पुनः उल्लासमय वातावरणमा मनाइने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्दै उहाँले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्