बेइजिङ, ५ भदौ ।
विश्व कोरोना संक्रमणले आक्रान्त भइरहेको बेला संक्रमणको मुहान चीनमा संक्रमण नियन्त्रण हुँदै गएको छ । चीनमा चार महिनायता कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
चीनको राजधानी बेइजिङका बासिन्दा अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ । सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले बिहीबारदेखि अर्को व्यक्तिसँग नजिकै जानुपर्दा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरिएको हो ।
बेइजिङ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबारदेखि नयाँ नियम लागू गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भन्दै चीनमा पछिल्ला दिनमा विभिन्न प्रतिबन्धहरु हटाइँदै लगिएको छ । केही दिनअघि मात्रै हुबेईको वुहानमा एउटा स्विमिङ पुलमा भएको पार्टीमा सयौं मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप २२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । बेइजिङमा भने पछिल्लो २४ घण्टामा संक्रमण देखिएको छैन । नयाँ नियमअनुसार बेइजिङमा अरु मानिससँग एकदमै नजिक(क्लोज कन्ट्याक्ट) मा जानुपर्ने भए मात्रै मास्क लगाउनुपर्ने छ । बालबालिकालाई भने अभिभावकको निगरानीमा लिएर हिँड्नुपर्नेछ । सार्वजनिक स्थानमा थुक्न भने कडा प्रतिबन्ध लागू गरिएको छ ।
यसअघि बुधबार चिनियाँ अधिकारीहरुले करिब ४ महिनादेखि कोरोना संक्रमणबाट चीनमा कसैको पनि मृत्यु नभएको जानकारी दिएका थिए । वुहान हाल सामान्य अवस्थामा छ ।