काठमाडौं, ६ भदौ ।
महानगरीय प्रहरी वृत्तका इन्सपेक्टरका कारण प्रहरी बदनाम भएको छ । युवकको रहस्यमय मृत्यु भएको एक घटनामा वृत्तका इन्सपेक्टर राजन लम्सालले मिल्न दबाब दिएको भन्दै मृतकका आफन्तले प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।
गत २३ साउनमा साथीहरुसँग घुम्न निस्किएका १७ वर्षिय दिपेन बर्दैवा हराएका थिए । पछि १ भदौमा उनको शव भेटियो । साथीहरु राजेश तिमल्सिना र सुवास थापासँग उनी घुम्न गएका थिए । क्षतविक्षत अवस्थामा उनको शव भेटिएको छ । उनको हत्या गरेर फालिएको परिवारको आशंका छ ।
शव उठाएर अस्पताल लैजाने क्रममा इन्सपेक्टर लम्सालले ‘जे हुनु भइहाल्यो, अब मिल्नुपर्छ’ भनेपछि मृतकका आफन्तहरु आक्रोशित भएका हुन् । दोषीलाई प्रहरीले उम्काउने प्रयास गरेको उनीहरुको आशंका छ ।
सोही कारण मृतकका कारण आफन्तहरले वृत्त अगाडि नाराबाजी समेत गरेका छन् । वृत्त प्रमुख डिएसपी कृष्णराज ओझाले भने यस्तो घटनामा प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको र दोषीहरुले उन्मुक्ति नपाउने भएका छन् । इन्सपेक्टर लम्सालको कार्यशैलीले वृत्त मात्र नभई प्रहरी नै बदनाम हुन पुगेका एक प्रहरीले बताए । ललितपुर परिसरले उनीमाथि छानबिन अघि बढाएको छ ।