काठमाडौं, ८ भदौं । कोरोना संक्रमणको सन्त्रास बढ्दै गइरहेका बेला नागरिकको जीवनरक्षाका लागि अग्रपंक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाजले सोमबार बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गरौँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ भन्ने आग्रह गरिएको थियो । प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईँ र काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले संकटका घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले अत्यावश्यक सेवाका यी क्षेत्रप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता संवेदनशील क्षेत्रमा कार्यरतको सधैँ सम्मान र सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । प्रदर्शनमा डेढ दर्जनभन्दा बढी अधिकारकर्मीको सहभागिता थियो । सुरक्षा विधि अपनाएर भौतिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरिएको सभापति पुडासैनीले जानकारी दिए ।