काठमाडौं, ८ भदौ ।
उपत्यकाका निषेधाज्ञा लम्बिने लगभग निश्चित भएको छ । निषेधाज्ञाको पाँच दिनमा संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञा लम्बाउनेको विकल्प नभएको निष्कर्षमा गृह मन्त्रालय पुगेको छ ।
बिहीबार बिहानदेखि सरकारले भदौ १० अर्थात् बुधबार बेलुकासम्मका लागि निषेधाज्ञा लागू गरेको हो । त्यसपछि परिस्थती हेरेर निर्णय गर्ने भनिएको थियो । पछिल्लो पाँच दिनमा उपत्यकामा दैनिक २ सयका दरले नयाँ संक्रमित थपिएका छन् । कतिपय टोलमै संक्रमण फैलिएकाले कम्तीमा एक हप्ता निषेधाज्ञा थप्नुको विकल्प नभएको जिल्ला प्रशासन कार्यालयका एक उच्च अधिकारीले बताए । यसका लागि बुधबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेर निर्णय गर्ने तयारी छ ।
सोमबार मात्र उपत्यकामा २ सय २२ जना थपिएका छन् ।
काठमाडौंमा दुई हजार ७ सय ५६, ललितपुरमा ४ सय ४४ तथा भक्तपुरमा संक्रमितको संख्या दुई सय ८६ पुगेको छ ।