काठमाडौं, ८ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवाद आजदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको परिसंवादमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा निजी आवास, शैक्षिक संस्था लगायतको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताउँदै प्राधिकरण अनुभव र सिकाईहरुको अभिलेखीकरणको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको सफलता, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई समेत उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ९० प्रतिशतभन्दा बढी लाभग्राहीहरु पुनर्निर्माण प्रक्रियामा प्रवेश गरी या त आफ्नो घर पुनर्निर्माण गरिसकेको वा पुननिर्माण गरिरहेको उल्लेख गर्नुभयो । ७ लाख ९० हजार लाभग्राहीले अनुदान सम्झौता गरेकोमा ६ लाख ३ हजार अर्थात् ७६ प्रतिशत लाभग्राहीले अनुदानको तेस्रो किस्ता लिइसकेका छन् । पाँच लाखभन्दा बढी लाभग्राहीले घर पुनर्निर्माण सम्पन्न गरिसकेका छन् ।
प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले परिसंवाद कार्यक्रम पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा भएका कामहरुको बारेमा व्यवस्थित छलफल गर्ने अवसर हुने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी एवं आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । परिसंवादको पहिलो दिन निजी आवास पुनर्निर्माणका विभिन्न आयाम समेटिएका १५ वटा कार्यपत्रहरु प्रस्तुत भएका छन् ।
पहिलो सत्रमा निजी आवासको स्ट्रक्चरल इञ्जिनियरिङ तथा प्रबलीकरणका विषयमा लिभा श्रेष्ठ, डा. निकोला जिओर्दानो, निमा स्थापित र सन्तोष यादवले कार्यपत्रहरु प्रस्तुत गर्नुभयो । त्यस्तै, दोस्रो सत्रमा ग्रामीण आवास पुनर्निर्माण सम्बन्धमा प्रेम उपाध्याय सुवेदी, देवराज गौतम, गौरव कुमार पन्थी, डा. क्रेस्टिन रेगर र रुपलाल ऐडीले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
तेस्रो सत्रमा शहरी आवास पुनर्निर्माणसम्बन्धमा छलफल भयो । यो सत्रमा कार्यपत्र प्रस्तुत गर्नेहरुमा डा. चन्द्र बहादुर श्रेष्ठ, सुवास घिमिरे, आस्था शिवाकोटी, डा. राजन सुवाल र मनिन्द्र मल्ल हुनुहुन्थ्यो । ती सत्रहरुको क्रमशः डा. हरि राम पराजुली, डा. चन्द्र बहादुर श्रेष्ठ र किशोर थापाले सहजीकरण गर्नुभएको थियो ।
आगामी नोभेम्बरमा गर्ने भनी तय गरिएको नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको एक अंशको रुपमा यो परिसंवाद आयोजना गरिएको हो । कार्यक्रम भदौ ११ गतेसम्म चल्नेछ ।