काठमाडौं, ९ भदौ । कोरोना भाइसको संक्रमण तत्काल नहटेमा मुख्य विपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन तोकिएको मिति फागुन ७ मा असम्भव हुने कांग्रेसका जिम्मेवार नेताहरुले नै बताउँदै आएका छन् । कोरोनाकै कारण क्रियाशील सदस्यता वितरणमा ढिलाइ भइरहेकाले फागुनमा महाधिवेशन असम्भव हुने उनीहरुको भनाइ छ ।
महाधिवेशन ६ महिना पर घकेलिए पनि नेतृत्वका लागि आकांक्षीहरु भने अगाडि देखिएका छन् । एकथरिले संस्थापनबाट सभापतिमा पुनः शेरबहादुर देउवा निर्विकल्प भनेर प्रचार गरिरहेका छन् । यही प्रचारका बीच साउन अन्तिम साता सभापति देउवासँग भेटेर उपसभापति विलमेन्द्र निधिले १४औं महाधिवेशनमा देउवाकै समर्थनमा आफू सभापतिमा उठ्ने औपचारिक जानकारी गराए । तर देउवाले भने १४ आँैं महाधिवेशनमा पुनः आफू उठ्ने र १५ औं महाधिवेशनमा आफ्नो टिमबाट सर्बसम्मत उम्मेद्वार बन्न निधिलाई आग्रह गरेका थिए । १३ औं महाधिवेशनअघि आफू एक कार्यकालका लागि सभापतिमा उठ्ने र १४ औं महाधिवेशनमा समर्थन गर्ने भनेर आफूलाई आश्वस्त पारेको निधिले स्मरण गराएका थिए ।
निधिले देउवासँगको भेटपछि बरिष्ठ नेता रामचन्द्र पौडेलसँग आफूलाई सर्बसम्मत उम्मेद्वारमा सघाउन आग्रह गरेका थिए । देउवासँग भेट्नुअघि निधिले महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहसँग पनि भेटेर समर्थन मागेका थिए ।
सभापतिमा उठ्ने निधिको दाबीले संस्थापन खेमामा मात्र नभई सिंगो कांग्रेसको राजनीति तातेको छ । निधिले १५ औं महाधिवेशनमा युवा पुस्ता अघि आउने भएकोले त्यतिबेला सभापतिमा आफ्नो दाबी असान्दर्भिक हुन सक्ने भन्दै यसै पटक उठ्ने अडान राखेका हुन् । संस्थापनमा कुनै पनि जटिल परिस्थिति आउनसाथ बार्ताद्धारा समाधान निकाल्नका लागि देउवाले निधिलाई नै अघि सार्ने गरेका छन् ।
नेपाली कांग्रेसको भोट बैंकका रुपमा रहेको तराईमा कांग्रेसको बिग्रदो अबस्था छ । निधिलाई अगाडि सार्नसाथ तराईमा कांग्रेसका पक्षमा माहौल बन्ने आँकलन एकथरी कांग्रेसले गरेका छन् । त्यसैले प्रदीप गिरी लगायका केही नेताहरु विमलेन्द्रका पक्षमा खुलिसकेका छन् । तराईबाट कांग्रेसको नेतृत्वमा आजसम्म कोही पनि पुग्न नसकेका कारण १४ औं महाधिवेशन एउटा अबसर हुने सिंगो तराईको बिश्लेषण छ ।
निधिले दाबी गरेपछि पौडेल समूहबाट सभापतिका आकांक्षीको संख्या बढ्ने निश्चित छ । रामचन्द्र पौडेलदेखि महामन्त्री डा. शशांक कोइरालासम्म, डा. शेखर कोइरालादेखि प्रकाशमान सिंहसम्मले खुलेरै दाबी गरिसकेका छन् । यतिमात्र होइन, रामशरण महतदेखि अर्जुन नरसिं केसीसम्मले पनि दाबी गरेकै छन् भने कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेर तेस्रो धारको नेतृत्व गर्दै आएका छन् ।
निधिलाई समर्थन गरेर देउवाले अघि बढ्नासाथ पौडेललाई सभापतिको दौडबाट पछाडि हट्न नैतिक दबाब पर्नेछ । त्यस्तो परिस्थितिमा नेतात्रयका पुत्र निधि, कोइराला र सिंहबीचबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने एकथरीले आँकलन गरेका छन् । यस्तो परिस्थिति बनेमा देउवा पौडेलको पुस्ता अभिभाबका रुपमा रहनेछ । नेतृत्वमा नयाँ पुस्ता आउनसाथ कांग्रेसका पक्षमा फरक माहौल बन्ने कतिपयको बिश्लेषण छ । निधि, कोइराला र सिंहबीच प्रतिस्पर्धा हुँदा संस्थापनको भोट सुरक्षित गर्नसक्दा निधिको जित सुनिश्चित जस्तै देखिन्छ । किनकि तीन जनाको तुलना गर्दा वीपीले पत्याएर २०३६ सालमा २४ बर्षको उमेरमा नेविसंघको नेतृत्व गरिसकेका नेता हुन् निधि । त्यसपछिका समयमा निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय छन् निधि । मधेश आन्दोलनका बेला अनेक प्रलोभनमा विजय गच्छदार लगायतका नेताहरुले कांग्रेस छाडेर स्वार्थका लागि नयाँ दल दर्ता गरे । तर निधि कांग्रेसको सिद्धान्तबाट टसमस भएनन् । डा. कोइराला सरकारी जागिरेपछि बल्ल राजनीतिमा आएका हुन् । क्षमताका हिसाबले भन्दा पनि वीपीको छोरा भएकै कारण उनी अघिल्लो महाधिबेशमा महामन्त्री निर्बाचित भएका हुन् । क्षमताका हिसाबले सिंह पनि वाह भन्न लायक छैनन् । देउवा समूहमा रहेका सिंह गुट परिबर्तन गरेर १२ औं महाधिवेशनअघि कोइराला खेमामा गएका थिए । तर निधिले भने साथ नछोडी देउवालाई सभापति बनाउन लागि परे र बनाए पनि ।
निधिको आकांक्षलाई कतिपयले मोलमोलाइका रुपमा पनि हेरेका छन् । तर निधिलाई नजिकबाट चिन्नेहरु आफ्नो भनाईमा अडिग हुने नेता भएकोले अब पछाडि हट्ने अबस्था नभएको बताउँछन् । देउवा समूहकै प्रदीप गिरीलगायतका नेताहरुको समर्थन पाएका कारण निधि पछिल्लो समय अनौपचारिक छलफलमा जुटेका छन् । निधिलाई बलियो बनाउनकै लागि नेता गिरीले महामन्त्रीका आकांक्षी गगन थापालाई निधिसँग जोड्ने प्रयास गरेका छन् । स्रोतका अनुसार थापा र निधिबीच दुई चरणमा कुराकानी भइसकेको छ । शेरबहादुरसँग सहकार्य हुन नसक्ने भनेर सार्बजनिक अभिव्यक्ति दिएका थापाका लागि निधिसँगको सहकार्य सहज हुने बताइएको छ ।