Logo
Logo

मानिस किन भ्रष्ट बन्दै गएका छन् ?


- दृष्टि न्युज/संवाददाता

378
Shares

  • कृष्णमणि पराजुली

मानिस एक विवेकशील प्राणी हो । उसमा बुद्धि हुन्छ । ज्ञान हुन्छ । कुन ठिक कुन बेठिक भन्ने छुट्याउन सक्ने चेतना उसमा हुन्छ । उ उत्कृष्ट बन्नको लागि उसमा बिचार गर्ने र दृष्टिकोण बनाउने क्षमता हुन्छ, मिठो बचनको लागि मुख हुन्छ, कर्मको लागि हात पाखुरालाई उसले परिचालन गरिरहेको हुन्छ । यति हुँदाहुँदै पनि मानिस किन असल बन्न सकेको हुँदैन ? उसलाई असल बनाउन राज्यले विभिन्न मार्गप्रशस्त गरेको हुन्छ । तर, त्यसतर्फ बिरलैको ध्यान गएको पाइन्छ ।

व्यक्ति, व्यक्ति मिलेर समाज बनेको हुन्छ । समाजमा खराब व्यक्तिहरुको झुण्ड भई दियो भने समाज परिवर्तन हुन सक्दैन । देश र समाजमा खराब मानिसहरुको बाहुल्यताले प्रश्रय पाउँदै गयो भने असल र क्षमतावान मानिसहरु समाजबाट ओझेलमा पर्दै जान्छन् । हाम्रो समाज सभ्य र सुुसंस्कृत हुन नसक्नुको मुख्य कारण पनि यही नै हो ।

विकासको मेरुदण्ड भनेको असल शासन हो । त्यसैले असल शासनको लागि ठूलाठूला अध्ययन अनुसन्धान पनि भइनै रहेका छन् । राजनीतिले देश विकासको लागि चिन्ता लिनुपर्ने हो । त्यसतर्फ नेताहरुको ध्यान पुग्न सकेको छैन । हाम्रो प्रशासकीय प्रणाली पनि जनतालाई सेवा प्रवाह गर्ने दिशामा त्यति जिम्मेवार भएको देखिँदैन । एकै छिनमा हुने कामलाई महिनौँँ लगाइने परम्परा कायमै छ । सामान्य नागरिकलाई प्रशासकीय काम कारवाहीप्रति नमिठो अनुभव बढ्दै गएको छ । निर्वाचनको समयमा नेताले गरेका बाचाहरु बिर्सिदै गएका छन् । यस प्रकारले नेताहरुप्रति जनतामा अविश्वासको वातावरण बढ्दै गएको पाइन्छ ।

हाम्रो देशको सन्दर्भमा पनि यही कुरा मेल खान आउँछ । जसले देशलाई हाँक्ने अवसर पाएका छन्, उनीहरु नै भ्रष्ट भएपछि देश कसरी अघि बढ्न सक्छ ? भ्रष्ट भन्नुको अर्थ भ्रष्टाचार गर्नु मात्र होइन । जिम्मेवार व्यक्तिहरु जब दायित्वबाट पन्छिन्छन्, तब त्यहाँ एक प्रकारको भ्रष्टाचारजन्य कार्य भएको हुन्छ । जुन कार्यले अन्य व्यक्ति र समाजलाई असर पारेको हुन्छ । यसरी एउटा जिम्मेवार पात्रले बाटो बिराइदिँदा सिंगो समाजमा विकृति र विसंगति मौलाउँछ । नेपाली समाज अहिले यस्तै पात्र र प्रवृत्तिहरुबाट सञ्चालित भएको देखिन्छ ।

अहिलेको समस्या भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचार कहाँबाट उत्पन्न हुन्छ भनेर कसैले प्रश्न गरेको खण्डमा सिधा उत्तर आइहाल्छ उच्च तहबाट । उच्च तह भन्नाले पनि सहजै अनुमान गर्न सकिन्छ नेतृत्व वर्ग । जसले नेतृत्व गरेका हुन्छन् । अर्थात् जसले समाजलाई परिवर्तन गराउने जिम्मा लिएका हुन्छन् ।

त्यसैले नेपाली जनता गरिबीको चक्रमा परेका छन् । आज आफ्नै देशमा राम्रो शिक्षा उपलब्ध हुन नसकेको कारणले गर्दा लाखौँ विद्यार्थी उच्च शिक्षा प्राप्त गर्न विदेशी मुलुक धाइरहेका छन् । रोजगारी प्राप्त हुन नसकेको कारणले गर्दा प्रत्येक दिन १५०० भन्दा बढी युवाहरु खाडी मुलुकमा श्रम बेच्न बाध्य छन् । वैदेशिक रोजगारीबाट ल्याएको कमाइ ‘रेमिट्यान्स’ पनि सदुपयोग हुनसकेको छैन । यस प्रकारका कमाई मुलतः घर जग्गा र उपभोग्य सामानजस्ता अनुत्पादक क्षेत्रमा लगानी भएका छन् । यसरी प्राप्त भएको विप्रेषण हाम्रो देशको अर्थतन्त्रको ठूलो हिस्सा बन्न पुगेको छ । विप्रेषणको रकम स्थायी र दिगो नहुने हुँदा राज्यले सधैँ नै वित्तीय साधनको जोखिम लिइरहनुपरेको छ ।

देशको अर्थतन्त्र खस्कँदो अवस्थामा देखिन्छ । अझैसम्म पनि हाम्रो प्रतिव्यक्ति आय १०९० अमेरिकी डलरभन्दा माथि जान सकेको छैन । यो पनि केही दिनअघि मात्र विश्व बैंकले निकालेको आँकडा हो । गरिबीको रेखामुनिको जनसंख्या डरलाग्दो छ । हिमाली क्षेत्रमा विकास पुग्न सकेको छैन । कष्टकर जीवन बिताउनु बाध्यता छ । पहाडमा त्यस्तै छ । युवा शक्ति विदेश पलायन भएका हुँदा खेतीपाती गर्ने मानिस नभएकाले खेतबारी सबै बाँझै छन् । वृद्ध र बालकहरु गाउँमा भोक, रोग र शोकमा बाँच्न बाध्य छन् ।

विकास गर्ने नाममा प्राविधिक अध्ययनबिना नै पहाडमा सडक निर्माण गरीएका छन् । जसका कारण वर्षैपिच्छे बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ । लागत लाभको विश्लेषण नै नगरी कमिशनका लागि बनाइएका सडकहरु उपयोगी हुन नसक्नु स्वभाविकै हो । एकातिर सीमित स्रोत र साधनको विवेकपूर्ण किसिमबाट प्रयोग गर्न सकिएको छैन भने, अर्कोतिर अघिल्लो वर्ष बनाएका सडकहरु पछिल्लो वर्षमा आउने वर्षाले बगाएका कयौं उदाहरण छन् । यसो हुनुको मुख्य कारण भनेको स्थानीय सरकारहरु सक्षम नहुनु हो । हाम्रो विकासको गति अगाडि बढ्न नसक्नुमा धेरै कारकतत्व भए पनि मुख्य कारकतत्व भनेको राजनीति नेतृत्व गैरजिम्मेवार हुनु नै हो । राजनीति नेतृत्व सक्षम भइदियो भने देशको विकास गर्न त्यति कठिनाइ पर्ने देखिँदैन ।

विकासको मेरुदण्ड भनेको असल शासन हो । त्यसैले असल शासनको लागि ठूलाठूला अध्ययन अनुसन्धान पनि भइनै रहेका छन् । राजनीतिले देश विकासको लागि चिन्ता लिनुपर्ने हो । त्यसतर्फ नेताहरुको ध्यान पुग्न सकेको छैन । हाम्रो प्रशासकीय प्रणाली पनि जनतालाई सेवा प्रवाह गर्ने दिशामा त्यति जिम्मेवार भएको देखिँदैन । एकै छिनमा हुने कामलाई महिनौँँ लगाइने परम्परा कायमै छ । सामान्य नागरिकलाई प्रशासकीय काम कारवाहीप्रति नमिठो अनुभव बढ्दै गएको छ । निर्वाचनको समयमा नेताले गरेका बाचाहरु बिर्सिदै गएका छन् । यस प्रकारले नेताहरुप्रति जनतामा अविश्वासको वातावरण बढ्दै गएको पाइन्छ ।

अहिलेको सन्दर्भलाई नियाल्दा भ्रष्टाचारको दायरा प्रत्येक दिन बढ्दै गएको देखिन्छ । जनतालाई सेवा प्रदान गर्न स्थापना भएका स्थानीय तहहरुमा ब्यापकरुपमा बढेको अनियमित गतिविधिहरु निश्चयनै संघीय व्यवस्थाको लागि सुहाउने कुरा होइन । नेपाली जनताले ल्याएको संघीय शासन प्रणाली भ्रष्टाचार बढाउन पक्कै पनि होइन । तर पनि, डरलाग्दो तवरले बढ्दै गएको भ्रष्टाचारप्रति हामी सबै चनाखो हुनैपर्दछ ।

भ्रष्टाचार देशको लागि एक प्रकारको मन्द विष नै हो । जसले अलिअलि गरेर देशलाई सखापै पार्न सक्दछ । २००७ सालदेखि अहिलेसम्म धेरै राजनीतिक परिवर्तनहरु भए तर ती परिवर्तन भ्रष्टाचारकै कारण अफापसिद्ध बन्दै गए । जनताले पेटमा पटुका कसेर तिरेको करको रकम यदि भष्टाचार एवं हिनामिना गरिन्छ भने त्यस्ता भ्रष्टाचारीउपर कानूनी कारवाही हुनैपर्दछ । उच्च तहको संरक्षणमा मौलाउँदै गएको भ्रष्टाचारलाई निर्मूल गर्ने कार्य पनि त्यति सहज देखिँदैन । मुहान सफा भए पो तलको पानी सफा हुन्छ । मुहान नै गन्हाउने भएपछि तल बग्ने पानी फोहोर हुनु स्वभाविकै हो ।

वर्तमान अवस्थामा पनि यस्ता ठूला भ्रष्टाचारका घटना ठूलै व्यक्तिहरुबाट भएका छन् । वाइडबडी काण्ड, न्यारोबडी काण्ड, ललिता निवास जग्गा प्रकरण, गोकर्ण रिसोर्टको जग्गा लिज प्रकरण, सोलु करिडोर जग्गा प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, सक्युरिटी प्रेस खरिद काण्ड, ३८ किलो सुन तस्करी काण्ड, एनसेल लाभकरजस्ता थुप्रै काण्डहरु सञ्चारमाध्यममा आएका छन् । यसले के देखाउँछ भने नेपालमा जति पनि ठूला भ्रष्टाचारजन्य अपराध घटेका छन्, ती सबै उच्च नेतृत्व तहमा बस्नेबाटै भएका देखिन्छन् । सानातिना शक्तिले यस्ता ठूला–ठूला भ्रष्टाचारका काम गर्ने आँट गर्र्नै सक्दैनन् र तिनीहरुमा त्यो निर्णय गर्ने अधिकार पनि हुँदैन ।

अन्त्यमा, आजकल यसरी मानिसले जतिसक्यो छिटो धनी हुने चाहना राखेको हुन्छ । छोटो समयमा नै बिना परिश्रम उच्च बिलासी जीवनयापन गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा समाजमा विभिन्न प्रकारका बिसंगति बढ्दै गएका छन् । जसको परिणामस्वरुप मानिस निर्दयी र भ्रष्ट बन्दै गएको छ । गर्न सक्नु पर्दछ जे गरे पनि हुन्छ भन्ने भावनाको विकासले अनैतिक कामहरुमा वृद्धि भएको छ । यसको निराकरण गर्नका लागि प्रत्येक व्यक्तिले आफूलाई नैतिकवान बनाउन र कानूनको शासनलाई शिरोपर गर्नु पर्दछ । यसो गर्न सकियो भने नेपाल र हामी नेपालीको भविश्य उज्ज्वल हुनेछ ।

(लेखकः नेपाल सरकारका पूर्वउपसचिव हुन्)

प्रतिक्रिया दिनुहोस्