काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकले विश्वब्यापीरुपमा फैलिरहेको कोभिड–१९ को असरबाट आफ्न ऋणी ग्राहकलाई पर्न गएको आर्थिक भारलाई महसुस गरी ऋणी ग्राहकलाई केही हदसम्म राहत दिने उद्देश्यले ब्याजदर छुट दिने भएको छ । विकास बैंकले यसभन्दा अगाडि नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई जारी भएको परिपत्रअनुसार २०७६ चैतमा ब्याज भुक्तनी गरेका ऋणीको ब्याजमा दिनुपर्ने १० प्रतिशत छुट र २०७७ वैशाख १ देखि आषाढ मसान्तसम्मको ३ महिनामा तोकिएका क्षेत्रबाहेकका ऋणीहरुलाई ब्याजदरमा दिनुपर्ने २ प्रतिशतले हुने रकम रु. ४ करोड २० लाख जति छुट प्रदान गरिसकेको जनाएको छ ।
यसरी बैंकले विश्वव्यापीरुपमा विगत ६ महिनादेखि आफ्नो पेशा र व्यवसाय निरन्तररुपमा चल्न नपाई आर्थिक भारमा परेका आफ्ना ऋणी ग्राहकमध्ये असल वर्गमा परेका सम्पूर्ण ऋणीहरुको ब्याजदरमा पुनः २.२५ प्रतिशतसम्मले ब्याजदर घटाई सहुलियत प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।
बुटवल ४ पाल्पारोडमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले हाल ७ वटा जिल्लाका विभिन्न ग्रामीण एवम् शहरोन्मुख क्षेत्रमा खोलिएका ५३ वटा शाखा कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङका साथसाथै लघुवित्तको माध्यमबाट समेत विभिन्न सेवा र सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।