Logo
Logo

नयाँ मन्त्रिहरुको टुंगो शनिबार लाग्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० भदौ ।
सत्तारुढ नेकपाभित्र नयाँ मन्त्री चयनको दौडधुप सुरु भएको छ । आगामी शनिबार बस्न लागेको सचिवालय बैठकमा मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना रहेको एक नेताले बताए ।

आगामी २० गतेबाट अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिदैछ । उनको राष्ट्रियसभाको कार्यकाल सकिएको र सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुनसक्ने संवैधानिक प्रावधान छ । जसअनुसार २० गते सांसद पदबाट अवकाश पाएको ६ महिना पुग्दैछ । अर्थमन्त्रीसहित अन्य मन्त्रीहरु समेत हेरफेर गर्न लागिएको छ । सञ्चार र सहरी विकास मन्त्रालय पहिलेदेखि नै रिक्त छ ।

गृहमन्त्री रामबहादुर थापा समेत रेडजोनमा रहेको स्रोत बताउँछ । पछिल्लो समय उनी विवादमा पर्दै आएका छन् भने साथै प्रचण्डसँग पनि उनको दुरी बढेको छ । त्यस्तै भूमिसुधार मन्त्री पद्मा अर्याल पनि हेरफेर हुने सूचिमा पर्ने जोखिम छ । कामको हिसाबले खानेपानी मन्त्री बिना मगर पहिले नै हट्नुपर्ने भएपनि प्रचण्डकै बुहारी भएकाले उनलाई हटाइएन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राम्रै काम गरेको भएपनि भाग पु¥याउन उनलाई पनि हटाउने सम्भावना रहेको स्रोत बताउँछ ।
नेकपाबाट सुरेन्द्र पाण्डे मन्त्री बन्ने पक्का छ । उनी अर्थमन्त्री हुने सम्भावना छ । अर्थमन्त्री नभए अन्य मन्त्रालयमा नजाने उनले बताएका छन् । त्यस्तै भिम रावलको समेत नाम मन्त्रीमा चर्चा भएपनि उनले आफु सरकारमा जान लालायित नभएको प्रतिक्रिया दिएका छन् ।
तत्कालिन माओवादीबाट जनार्दन शर्मा पहिलेदेखि नै खुट्टा उचालेर बसेका छन् । बादललाई हटाएर गृहमन्त्री हुने उनको योजना छ । पम्फा भुषालको नाम पनि चर्चामा छ ।

त्यस्तै सांसद अपहरणकाण्डमा जोडिएका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ समेत लबिङमा लागेका छन् ।
पार्टीमा पछिल्लो पटक बढेको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले मन्त्रीपरिषद् पुनर्गठनको कुरा समेत छ । सोही अनुसार सबै पक्षका नेताहरुलाई मिलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु समेत हेरफेर हुने सम्भावना छ ।

नियुक्तिसम्बन्धि हरेक निर्णय पार्टीको सचिवालयबाट स्वीकृत गराएर मात्र अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्