Logo
Logo

चितवन, लुम्विनी, भक्तपुर र झापामा गरी पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ भदौ । चितवन जिल्लामा कोरोना संक्रमणबाट दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष र हेटौँडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला रहेको बताइएको छ ।

ती पुरुष यही भदौ ५ गते श्वासप्रश्वासमा समस्या भई पुष्पाञ्जली अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको कोभिड –१९ स्रोत व्यक्ति फिजिसियन चिकित्सक सन्दीप पाण्डेका अनुसार उनको सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो । उनको दुवै फोक्सोमा निमोनिया देखिएर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको आज बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उहाँका अनुसार उनलाई यही भदौ ७ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप रहेकाले अस्पतालको सघन उपचारकक्षमा शुरुदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज बिहान मृत्यु भएको जनाइएको छ ।

त्यस्तै मध्यपुरथिमिमा कोभिड–१९ संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको बिहीबार राति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना संक्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिए । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए ।

त्यसैगरी झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संक्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताए । एक साताअघि उनी नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल गएकी थिइन् । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड संक्रमण पुष्टि भएको थियो । हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्