काठमाडौं, १५ भदौ ।
अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल पाँच दिन मात्र बाँकी भएपछि राष्ट्रियसभामा नियुक्तीका लागि दौडधुप सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा . खतिवडालाई नै निरन्तरता दिने संकेत दिएपछि नेता वामदेव गौतम सशंकित बनेका छन् ।
उनले आफुलाई राष्ट्रियसभामा लैजानेबारे पार्टीले नै निर्णय गरेकाले त्यसमा तलमाथि हुन नहुने बताएका छन् । सोमबार अनलाइनखबरसँग उनले भनेका छन्, ‘मलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय यथावत छ, त्यो पार्टीको तर्फबाट यताउता हुनै सक्दैन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने तीनजना छन्, त्यो प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो भने भनेजस्तो बुझियो, त्यो चाहिँ गलत हो ।
राष्ट्रियसभामा मैले जान्न भनेकै छैन । जान्न भनेको पहिल्यै हो, निर्णय भएपछि त कहाँ जान्न भनेको छु र ? भनेको छैन । पार्टीको निर्णय कार्यान्वयन हुन्छ, म जान्छु भनेको छु । बरु फागुनदेखि अहिलेसम्म कति भयो ? ६ महिना भइसक्यो । ६ महिनासम्म पार्टीको निर्णय लागू भएको छैन । पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ । त्योभन्दा अर्को निर्णय भएको छैन ।’
सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक सिट रिक्त छ । पार्टीभित्रको विवाद नमिलेकाले नै सो सिटमा सरकारले सिफारिस गर्न सकेको छैन । बुधबार बस्न लागेको पार्टीको सचिवालय बैठकले यससम्बन्धि निर्णय गर्ने बताइएको छ । शनिबार प्राइम टेलिभिजनको अन्तर्वातामा प्रधानमन्त्री ओलीले डा.खतिवडा नै अर्थमन्त्रीमा निरन्तरता पाउनसक्ने बताएका थिए ।