महोत्तरी, १७ भदौ । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ । यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।
मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ । यसपटक भने कोभिड–१९ महाव्याधिको सङ्क्रमण छल्न मिथिला क्षेत्रका जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरूले तयारी गरेका छन् । यस पक्षभरि (पितृपक्ष) दिवङ्गत आत्माहरू मत्र्यलोक (पृथ्वी) मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।
असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ । यस पक्षबाहेक अन्यबेला तिथि परेका दिवङ्गतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका (दिवङ्गत भएका) पितृहरूको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने हिन्दू मैथिल परम्परा रहेको महोत्तरीको बर्दिवास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ ।
पितृपर्व मानिने यस पक्षमा भारतको बिहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ । यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवङ्गतको सम्झना गर्ने गर्छन् । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्व हुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।
यस पक्षबाहेक दिवङ्गत हुनेहरूको तिथिमा एकोद्दिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ तर यस पक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकुल (मावल), पितृकुल (पिताकुल), गुरुजन र अविवाहित दिवङ्गत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने भङ्गाहा नगरपालिका–५ सिद्धपुरका बासिन्दा अर्का कर्मकाण्डका ज्ञाता रामनारायण झा बताउनुहुन्छ । यस पक्षमै तिथि परेका (निधन भएका)हरूको सम्झनामा गरिने एकोपार्वण विधिको श्राद्धमा एकोद्दिष्ट र पार्वणका दुवै विधि मिश्रण रहेको झाको भनाइ छ ।
पितृपक्ष हिन्दू मैथिल परम्परामा अत्यन्त पवित्र मानिने र यस पक्षभरि आफ्ना दिवङ्गतहरूको सम्झना गर्दै सात्विक आचरणमा रहने कर्मकाण्डीय शास्त्रीय मत छ । हिन्दू परम्परामा घरमा कुनै शुभकार्य गर्नुअघि पितृहरूको स्मरण गर्दै नान्दीमुख श्राद्ध गरिने परम्पराकै यो निरन्तरता भएको मिथिला परम्पराका ज्ञाता बताउँछन् । असोज शुक्लपक्षको प्रारम्भसँगै हिन्दूहरूको महान पर्व बडादशैँ, त्यसलगत्तै तिहार र छठजस्ता राष्ट्रिय पर्व पर्ने भएको हुँदा त्यसअघि पितृस्मरणका लागि सिङ्गो पक्ष छुट्याइएको हुनसक्ने महोत्तरीकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । यसपालि भने असोज कृष्णपक्ष समाप्तीसँगै अधिकमास प्रारम्भ हुने भएको हुँदा चाडपर्व एक महिनापछि धकेलिएका छन् ।
पितृपक्ष प्रारम्भ हुनासाथै पुरोहित ब्राह्मणहरूको व्यस्तता बढेको छ । वर्षभरिका सबै तिथिको पार्वण श्राद्ध यसै पक्षभित्र गरिने भएकाले एकैदिन चार÷पाँच ठाउँसम्म श्राद्ध गराउनु पर्ने हुँदा पुरोहित ब्राह्मणहरूको व्यस्तता बढेको हो । एकोद्दिष्ट, एकोपार्वण र तीर्थश्राद्धभन्दा बढी विधि हुने हुँदा पार्वण श्राद्धमा समय बढी लाग्ने गरेको पुरोहित महेशकुमार झा बताउनुहुन्छ । (रासस)