Logo
Logo

प्रहरीका पाँच सय कार्यालय शौचालयबिहीन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ भदौ । देशभरी प्रहरीका २ हजार ७ सय ५७ इकाईहरु वटा कार्यालय छन् । जसमध्ये आधाजसो कार्यालयमा आधारभुत सुविधा समेत छैन । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै प्रहरी चौकीहरु एक हजार एक सय ३९ वटा छन् । धेरै जसो प्रहरी चौकीमा आधारभूत सुविधा नभएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । देशभरी चार सय ८३ वटा इलाका प्रहरी कार्यालय तथा २९ वटा वडा प्रहरी कार्यालय छन् ।


अझै पनि प्रहरीका करिब पाँच सय कार्यालयमा शौचालय समेत छैन । दुई वर्षअघि आठ सय ५० कार्यालयमा शौचालय नभएका धेरै कार्यालयमा गत वर्ष निर्माण गरिएको छ । यो वर्ष पनि कार्यालयमा शौचालयका लागि बजेट पठाइएको छ । तर पनि पर्याप्त हुन सकेको छैन ।

दुई वर्षमा एक हजार कार्यालय निर्माण

पछिल्लो समय स्थानीय तहले प्रहरीलाई सहयोग गरेपछि प्रहरीको अवस्थामा सुधार भएको छ । स्थानीय तहसम्मका प्रहरी इकाईहरुका भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने नीति अनुरुप नेपाल प्रहरीले पछिल्लो दुई वर्षमा १ हजार १ सय ७७ वटा नयाँ संरचना निर्माण सम्पन्न गरेको छ । नेपाल प्रहरीको नियमित बजेट, राष्ट्रिय पूनः निर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट प्रहरीको कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सा लगायत उक्त संख्यामा नयाँ संरचना निर्माण गरिएको हो ।

प्रहरी इकाईका भौतिक संरचनालाई समयसापेक्ष स्तरोन्नतिर नयाँ निर्माण गर्न प्रहरी प्रधान कार्यालयले कार्य योजना बनाई निर्माण कार्यलाई तिव्रता दिए बमोजिम पूर्वाधार बनाउने काम भइरहेको हो । सो बमोजिम पछिल्लो दुई आर्थिक वर्ष (आर्थिक वषए २०७५÷०७६ र ०७६÷०७७) मा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, ७ सय ५५ वटा शौचालय समेत अन्य संरचना गरी उक्त संख्यामा नयाँ संरचना बनिसकेको छ ।

नेपाल प्रहरी अन्तर्गतका हाल देशभर २ हजार ७ सय ५७ इकाईहरु रहेका छन् । एक स्थानीय तहमा कम्तीमा एक प्रहरी इकाई स्थापना गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप २०७५ साल यता चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म कूल २ सय ५१ नयाँ इकाई र सो अनुरुप दरबन्दी समेत निकासा भइसकेको छ । चालु आवमा नेपाल प्रहरीको नियमित बजेटबाट ३९ नयाँ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र ८ सय ८० वटा शौचालय समेत अन्य संरचना गरी १ हजार १ सय ४ वटा संरचना निर्माणाधिन रहेका छन् । यस्तै पूनःनिर्माण कोषबाट ४८ र प्रादेशिक बजेटबाट ८ सय १० नयाँ पूर्वाधार निर्माणाधिन अवस्थामा छन् भने प्रादेशिक बजेटबाट चालु आवमा ३० वटा संरचना निर्माण सम्पन्न भइसकेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा समेत कार्यालय, ब्यारेक भवन, मेस, शौचालय लगायत अन्य भवन गरी ९४ वटा नेपाल प्रहरीको नियमित बजेटबाट र पूनःनिर्माण कोषको बजेटबाट ३ सय ४६ वटा नयाँ संरचना निर्माण भएको थियो । नेपाल प्रहरीले भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्दै भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई.लोकेश सिंहले बताए । ‘अहिले ६९ जिल्लामा नयाँ निर्माण भइसकेको छ । जे जती बनेका छन् वा बनिरेहका छन् ती सबै भवनहरु आधुनिक, अपाङ्ग एवं लैंगिक मैत्री तवरले बनाइएका छन् ।’ उनी भन्छन् ‘प्रहरीलाई आधुनिकिकरण गर्दै लाने योजना बमोजिम बिगतदेखि नै निर्माण कार्यलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिदै आइएको छ ।’

प्रहरीको जनशक्तिमा वृद्धि एवं समय परिवर्तनसँगै पहिलेका संरचना अहिले अपुग भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्छन्, ‘कार्यालय समेतको पुर्वाधार बनाउन विशेष ध्यान दिइएको छ । आवश्यक्ता अनुसार संरचना निर्माण र मर्मतसम्भार गर्न प्रहरी प्रधान कार्यालय संवदेनशील रहेको छ ।’ उहाँको भनाई छ, ‘कार्यालय होस् या हिरासत कक्ष अहिले बालबालिका, महिला, जेष्ठ नागरिकको संवेदनशिलता र अन्य विभिन्न कारणले पनि थप छुट्टै संरचना बनाउनुपर्ने आवश्यक्ता छ ।’ सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा प्रहरीले आधारभुत सुविधा पाउन नसकेको प्रहरी अधिकारीहरु बताउँछन् । यसमा प्रहरी नेतृत्वको लबिङ क्षमतामा समेत कमजोरीले धेरै बजेट आउन सकेको छैन । आएको बजेट पनि हरेक वर्ष फ्रिज हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्