Logo
Logo

बागलुङ पहिरो : १७१ भौतिक संरचनामा क्षति, २४ अझै बेपत्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

गलकोट, २० भदौ । बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीयसँगै ठूलो मात्रमा भौतिक क्षति भएको छ । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पु¥याएको छ ।
बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीका कारण ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पु¥याएको छ । मुख्यगरी भुजी खोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ ।
ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीका कारण ढोरपाटन–९ मा जम्मा ७३ घर र ढोरपाटन–८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरबाट ५१८ जना विस्थापित भएका छन् ।
यस्तै १३१ घरसहित ११ लघु जलविद्युत्, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, दुई विद्यालय र १० काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पु¥याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीका अनुसार अधिकांश संरचना पूर्णरुपमै ध्वस्त भएका छन् भने बुर्तिवाङ हुँदै ढोरपाटन जाने सडकको दुई दर्जन बढी स्थानको सडक बगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्