काठमाडौं, २३ भदौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको करिब चालिस वर्षदेखिको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको टिममा सामेल भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सुदूरपश्चिममा पूर्वमाओवादी नेता तथा कार्यकर्ताबाट एक्लिएका छन् । भट्ट मन्त्री भएपछि मन्त्रालयको दैनिक कामकाजमा बिचौलियाहरुका कारण बदनाम पनि भइरहेका छन ।
गत साउन अघि नेता कार्यकर्ताले भरिभराउ हुने उद्योग मन्त्रालय आजकाल दलाल र विचौलियाहरुको अखाडा बनेको छ । हरेक दिनमा विभिन्न किसिमका दलाल र विचौलियाहरु मन्त्रीका सचिवालयमा देख्न सकिन्छ । मन्त्रालयमा दलाल र बिचौलिया भित्र्याएर करोडौं रकमका कामहरु गर्ने जिम्मा मन्त्री भट्टका स्वकीय सचिव ओझालेले दीपक साउद तरंगलाई सुम्पेको मन्त्रालयका कर्मचारीहरुबीच चर्चा हुँदै आएको छ ।
मन्त्रालयमा बिचौलिया छिराउने काम मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाको नेतृत्वमा भइरहेको स्रोत बताउँछ । ओझालाई पर्दा पछाडिबाट नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य दीपक साउदले प्रयोग गरिरहेका छन् । ओझा भट्टका मामाका छोरा हुन् । निःसन्तान भट्ट दम्पतीले पछिल्लो समयमा ओझालाई छोराको जस्तै व्यवहार गर्छन । गैरराजनीतिक पृष्ठभूमिका ओझा मन्त्री भट्टकै दबाबमा एक्कासी नेकपा कैलालीको जिल्ला कमिटी सदस्य बन्न सफल भएका थिए । जिल्लामा माओवादी आन्दोलनमा त्याग र संघर्ष गरेका सयौं कार्यकर्ताहरुको भावनालाई लत्याएर ओझालाई जिल्ला कमिटी सदस्य बनाएकोमा मन्त्री भट्टप्रति कैलालीका पूर्वमाओवादीहरुले असन्तृष्टि व्यक्त गरेका थिए ।
मन्त्री भट्ट जनयुद्धताका आफ्ना सहयोगी बलबहादुर महता ‘अनुप’ लाई स्वकीय सचिव बनाउने प्रतिवबद्धता व्यक्त गरेका थिए । भट्ट निर्वाचित नेकपा क्षेत्रीय कमिटीले पनि बलबहादुर महता ‘अनुप’ लाई स्वकीय सचिव बनाउने निर्णय गरेको थियो । महता २०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर ४ को संयोजक थिए । तर उनले आफ्नो प्रतिबद्धता कार्यान्वय गर्न सकेनन् । तिनै हितेश अहिले मन्त्री लेखराजको स्वच्छ छबिलाई धुमिल बनाउन लागिरहेको सुदूरपश्चिमका पूर्व माओवादीहरु बताउने गर्छन ।
मन्त्री भट्ट प्रचण्डलाई छाडेर प्रधानमन्त्री ओलीको टिममा लागेपछि सुदूरपश्चिमका पूर्वमाओवादी खेमाका नेता कार्यकर्ताहरु उद्योग मन्त्रालयमा आउन छाडेका छन् । ११ साउन २०७७ मा नेकपा सुदूरपश्चिम सहइन्चार्ज खगराज भट्टको नेतृत्वमा ३० जना अगुवा नेता कार्यकर्ताको टोलीसँगको भेटमा प्रचण्डले अब सुदूरपश्चिममा खगराजजी नै हाम्रो टिमको नेता हो । उहाँकै नेतृत्वमा अघि बढनु होला भनेर निर्देशन दिएपछि प्रचण्ड निकटका नेता कार्यकर्ताहरुले मन्त्री भट्टसँग भेटघाट बन्द गरेका छन् ।
गत साउन अघि नेता कार्यकर्ताले भरिभराउ हुने उद्योग मन्त्रालय आजकाल दलाल र विचौलियाहरुको अखाडा बनेको छ । हरेक दिनमा विभिन्न किसिमका दलाल र विचौलियाहरु मन्त्रीका सचिवालयमा देख्न सकिन्छ । मन्त्रालयमा दलाल र बिचौलिया भित्र्याएर करोडौं रकमका कामहरु गर्ने जिम्मा मन्त्री भट्टका स्वकीय सचिव ओझालेले दीपक साउद तरंगलाई सुम्पेको मन्त्रालयका कर्मचारीहरुबीच चर्चा हुँदै आएको छ ।
मन्त्री भट्ट महत्वपूर्ण राजनीतिक तथा सरकारी बैठक र भेटघाटहरुमा व्यस्त रहनु परेकोले मन्त्रालयका दैनिक कामकाजको जिम्मा स्वकीय सचिव हितेश ओझालाई प्राप्त छ । यही जिम्मेवारीको गलत फाइदा उठाउदै दिपक साउद तरंगसँग मिलेर ओझाले धमाधम करोडौ रुपैया उठाउदै आएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । ओझा र साउदलाई परिचालन गर्ने मास्टर माइन्ड विवादस्पद व्यवसायी दिपक मल्होत्रा हुन । साउदले मलहोत्रालाई मित भन्ने गर्छन् । उसो त दिपक नाम भएका व्यवसायी, तस्कर, विचौलिया वा प्रतिष्ठित जो सुकै व्यक्तिलाई दिपक साउद तरंगले मित लगाउदै सम्बन्ध बनाउने गरेका छन् ।
मल्होत्राकै योजना मुताविक ओझा र साउदले औद्योगिक तथा लगानी प्रर्वद्धन वोर्डको २ सय ३१ औं वैठकबाट विभिन्न उधोगहरुको क्षमता तथा पूँजी बिस्तारको निर्णय गराए । मुलुक लकडाउनबाट चरम आर्थिक संकटबाट गज्रिरहेका बेला विभिन्न मदिरा उद्योगहरुको क्षमता बिस्तार तथा पूँजी वृद्धिको निर्णय गराइयो ।
गत बैशाखमा मदिरा उद्योगीहरुले मन्त्री भट्टलाई पूँजी तथा क्षमता विस्तारको प्रस्ताव गर्दा उनले अस्विकार गरेका थिए । यस विषयको फाइल फिर्ता गराइएको थियो । तर स्वकीय सचिव ओझा र साउदको निरन्तरको दबाब पछि ३० साउन २०७७ को बोर्ड बैठकको निर्णयबाट मदिरा व्यवसायीहरुको फाइल पास गराइयो । यस प्रकरणमा झण्डै १० करोडको लेनदेन भएको मन्त्रालय स्रोतको भनाइ रहेको छ ।
श्रावण ३० गतेको बोर्ड वैठकबाट भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिज, सुमी डिष्ट्रलरी, प्रिमियर अर्गानिक्स उद्योग लगायतले पूँजी वृद्धि तथा क्षमता विस्तारका लागि अनुमति पाएका छन् । यसका साथै वाईन तथा साईडर उत्पादन गर्ने उद्योगको अनुमति र दर्ता अख्तियारी, फलफूलमा आधारित वाईन उत्पादन गर्ने भनेर अनुमति दिइएको छ । यस्तो निर्णय गर्दा मन्त्री भट्टले आलोचना खेप्नुपरेको छ ।
यसैगरी नेटवर्किङ व्यवसायका नाममा जनताको अरबौ रुपैयाँ ठगी गरेर विवादमा आएका हर्बो इन्टरनेशनल, नेचर हर्ब इन्टरनेशनल, आइबोस इन्टरनेशनल, ग्लोवल इन्टरनेशनल, न्यू विवेक इन्टरप्राइजेजलगायतका कम्पनीहरुलाई १६ असार २०७७ मा व्यवसाय सुचारु गर्न इजाजत दिएको छ ।
विगतमा सरकारको कालो सूचीमा रहेका, जेल परेका, कानुनी कारवाहीबाट बच्न भागेका नेटवर्किङ व्यवसायीहरुलाई खोज तलास गरेर जम्मा गर्ने काम दिपक साउद तरंगले गरेका थिए । साउद र मन्त्री भट्टका स्वकीय सचिव ओझा मिलेर वस्तुको प्रत्यक्ष बिक्रि व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७४, र नियमावली २०७६ का प्रावधानहरुको आफू अनुकूल ब्याख्या गर्दै भूमिगत रहेको नेटवर्किङ व्यवसायलाई जगाउने काम भयो । मन्त्रीको सचिवालयको दबाबका सामु कर्मचारीहरुलाई निरीह बनाइएकोमा उद्योग मन्त्रालयमा तीब्र असन्तृष्टी छाएको एकजना उच्च अधिकारीले बताए । यस प्रकरणमा ओझा र साउदको टिमलाई १५ करोड रुपैया घुस दिनु परेको नेटवर्किङ व्यवसायीबीच चर्चा छ ।
विगतमा नेटर्वकिङ विजनेशका नाममा अरबौ रकम ठगी गर्ने सञ्चालकहरुलाई नै घुमाउरो बाटोबाट अनुमति दिदा मन्त्री भट्टको बदनामी भएको छ । नेटवर्किङ विजनेश जस्तै प्रकृतिका काम गर्ने कम्पनीहरुलाई नियमावली बनाई अनुमति दिएपछि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले मन्त्री भट्ट सहित मन्त्रालयका सचिव एवंम् वाणिज्य विभागका महानिर्देशक सहितलाई छलफलका लागि समितिमा बोलाएको थियो ।
विचौलिया र दलाल व्यवसायीहरुको आइडियमा उद्योग मन्त्री भट्टलाई गुमराहमा पारेर स्वकीय सचिव ओझा र साउदले सरकारको निर्णयलाई समेत उल्टाइदिएका छन । १६ चैत्र २०७६ मा सरकारले तेस्रो मुलकबाट आयात हुने केराउँ, मरिच, छोक्रा तथा ५० हजार डलर भन्दा बढी मुल्यका गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरको थियो । १४ भदौ २०७७ को मन्त्रीपरिषद बैठकले गत चैत १६ गते अगाडि नै सिपिङ भइसकेका केराउ र मरिचको आयात नरोक्ने निर्णय गरेको छ ।
सिपिङ भइसकेका करोडौं लगानीका मरिच र केराउ आयात गर्न दिने निर्णय गराउन व्यवसायीहरु असार महिना देखि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ढोका ढकढक्याउदै आएका थिए । मन्त्री भट्टका स्वकीय सचिव ओझामार्फत व्यवसायीहरुले कोसिस गरिरेहका थिए । तर, आर्थिक लेनदेन नमिल्दा व्यवसायीहरुको फाइल अघि बढेको थिएन । ओझाले लेनदेनको विषयमा छलफल गर्न दिपक साउद तरंगलाई जिम्मा दिएका थिए । करिब अढाई महिनाको कोशिस पछि मरिच र केराउ आयातमा लागेको प्रतिबन्ध सरकारले फुकुवा गरेको छ । प्रतिबन्ध फुकाउन व्यवसायीहरुले ओझा र साउदको टिममार्फत १५ करोड रुपैया खर्च गरेको बताइन्छ । सरकारले गत चैतमा विदेशी मुद्रामा चाप पर्दा यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो ।
व्यवसायीहरुको अरबौं मुल्यको मरिच र केराउ भारतीय सीमा नाकामा रोकिएर कुहिने अवस्थामा पुगेको भन्दै ओझा र साउदले दिनदिनै मन्त्री भट्टसँग कचकच गर्दै आएका थिए । तर मन्त्री भट्टले सरकारले गरेको निर्णय सच्याउन नसकिने भनेपछि ओझा र साउदले व्यवसायीहरुलाई सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याउन लगाएर मन्त्री भट्टलाई अडानबाट गलाउने जुक्ति निकाले ।
अदालतले ‘सबै कानुनी प्रक्रिया पुरा गरेको भए ’ व्यापारीको सामान सीमा क्षेत्रमा नरोक्नु भनि अन्तरीम आदेश जारी गर्यो । तर मन्त्री भट्टले अदालतले गरेको आदेशमा सबै कानुनी प्रक्रिया पुरा नगरेका कारण रोकिएको भनि अडान लिएपछि ओझा र साउदले फेरि व्यवसायीहरुलाई कृषि मन्त्रालय र भन्सार विभागको राय लिई सामान आयात गर्न दिनुपर्ने प्रस्ताव गर्ने उपाय निकाले । अन्तिममा दबाब थेग्न नसकेर मन्त्री भट्ट प्रतिबन्धित सामानहरु आयात गर्न दिनुपर्ने भनी मन्त्री मण्डलमा प्रस्ताव लगेर गए ।
२०७६ साल मंसिर ५ गते लेखराज भट्ट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री भएपछि मात्र मन्त्री भट्ट सँग दिपक साँउद तरंग नजिक भएका हुन । माओवादी पार्टीमा लागेदेखि साँउद जनार्दन शर्मा प्रभाकर निकट हुन । कुनै बेला गण्डक क्षेत्रमा नेता प्रभाकरको खाना पकाउने स्टाफका रुपमा रहेका साउद पछि गएर उनका विश्वासपात्र बने । २०६४ मा प्रभाकर शान्ति तथा पुनःनिर्माण मन्त्री भएका बखत साउद सचिवालय सदस्य पनि भए । प्रभाकरको सचिवालयमा रहदा आर्थिक चलखेल गरेर योजना बाडेको भन्दै साउद विवादमा परेका थिए । तिनै प्रभाकरको सिफारिसमा उनी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष पनि भए । कैलालीको धनगढीमा १४–२१ फागुन २०६८ मा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भ्रष्टाचारको आरोप लागेका साउदको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन अवस्थामा छ । छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट भ्रष्टाचार गरेर कमाएको पैसाले उनले काठमाडौँमा डेढ करोड मूल्य बराबरको घडेरी किनेका छन् । हाल उक्त घडेरीमा घर बनाउने तयारीमा रहेको बुझिएको छ । अछाम जिल्लाको दुर्गम रामारोशन गाउँपालिका भाटाकाटिया गाउँमा स्थायी बसोबास रहेका साउद निम्न वर्गीय परिवारका हुन । अछाममा मुश्किलले बिहान साँझको छाक टार्न सकिने पृष्ठभूमिका साउदले काठमाडाँै डेढ करोडको घडेरी कसरी जोडे र घर बनाउने पैसा कहाँबाट ल्याउँदैछन् भनेर पूर्वमाओवादी कार्यकर्ताहरुबीच चर्चा हुने गर्दछ । जागिर, व्यापार व्यवसाय केही छैन तै पनि बच्चाहरुलाई काठमाडौँका महंगा विद्यालयमा पढाइरहेका छन । सपरिवार काठमाडौँमा शानको जीवन कसरी बिताइरहेका छन् भनेर साउदमाथि प्रश्न उठ्ने गरेको छ ।
माओवादी कालखण्डमा कहिल्यै पनि लेखराज भट्टको टिममा नरहेका साउद २०७५ सालमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकिकरण हुँदा सुदुरपश्चिम प्रदेशमा भीम रावल खेमामा लागेका थिए । करिब एक वर्षसम्म रावलको वरिपरी घुमिरहदा पनि कुनै स्वार्थ पुरा हुने नदेखेपछि साउद एकाएक भट्टसँग नजिकिए । अफिसियल रुपमा साउदको सम्बन्ध मन्त्रालयसँग छैन तर विहानै मन्त्री निवास पुगेर मन्त्री भट्टको चाकरी गरेर सुरु हुने उनको दिनचर्या दिनभरी मन्त्रालयमा बित्ने गर्छ । मन्त्री निवास र मन्त्रालयमा सधै साउद देखा पर्न थालेपछि मन्त्री भट्टसँग जोडिएका सुदूरपश्चिमका पूर्वमाओवादी खेमाका नेता तथा कार्यकर्ताहरु मन्त्री भट्टसँग रुष्ट बन्दै गएका छन् ।