Logo
Logo

बैंक ठग पनि देउवा प्यानलमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ भदौ । १३ औं महाधिवेशन भएको छ महिनाभित्र विभागहरु गठन गरिसक्नु पर्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति घोषणापछि मात्र विभाग गठन गरेपछि संस्थापनइतर समूहले महाधिवेशन प्रभाबित पार्न खोजेको आरोप लगाउँदै आएको छ ।

पौडेल पक्षीय नेताहरुले सभापति देउवाले निर्णय नसच्याएमा पार्टी कार्यालय सानेपामा अनसन बस्ने चेतावनी समेत दिएको छ । ६०, ४० को भागबण्डाका कारण रामचन्द्र पौडेल पक्षीय नेताहरुसँग विभागमा बस्नेहरुको नाम माग्दा पनि उपलब्ध नगराएका कारण समयमै विभाग गठन हुन नसकेको संस्थापन समूहको आरोप छ । पौडेल पक्षीय नेताहरु भने समयमा विभाग गठनको प्रकृया शुरु नगरी महाधिवेशनलाई प्रभाबित पार्नका लागि धमाधम सदस्यहरु मनोनित गरेको भन्दै विभागको बैधानिकतामाथि प्रश्न उठाउँदै आएका छन् ।

पौडेल पक्षीय नेताहरुले यस्तो आरोप लगाइरहेका बेला उता संस्थापनभित्र पनि विभागमा मनोनित गरिएका कतिपय सदस्यहरुका विषयलाई लिएर असन्तुष्टि बढेको छ । सभापति देउवाले पछिल्लो समय गठन गरेका खासगरी एनपी साउदको संयोजकत्वमा गठित कांग्रेस शुभेच्छुक संस्था समन्वय विभाग र प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको प्रचार विभागमा तीब्र असन्तुष्टि देखाएका छन् ।

साउद संयोजक रहेको समन्वय विभागको उपप्रमुखमा लम्जुङका विष्णु धिताल र सचिवमा दोलखाकी विनिता अधिकारी, सदस्य मुकेश काफ्लेको विषयमा असन्तुष्टि रहेको बताइन्छ । विभागको उपप्रमुखमा मनोनित भएका धिताल २०७२ साल मंसिरमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कमसल धितो र नक्कली कागजपत्र बनाएर वित्तीय ठगी गरेको आरोप लागेको थियो ।

एपेक्स बैंकको अध्यक्ष धिताललाई करिब डेढ अर्ब रुपैयाँ बराबरको रकम घोटाला गरेको आरोपमा उनीसहित २१ जनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले २०७५ साल जेठमा पक्राउ गरेको थियो । दुई महिना लामो अनुसन्धानपछि भएको मुद्दामा तत्कालीन उच्च अदालत पाटनले २०७५ भदौमा धरौटीमा रिहा छोड्न आदेश दिएको थियो । यतिमात्र होइन, कार्यकर्ता तहमा कुनै पकड नभएका धिताल विगतमा कोइराला समूहमा थिए । उनी पैसाको प्रलोभनमा यस्ता पद हत्याउँदै आएका व्यक्ति हुन् । राजनीतिको आडमा धितालले आर्थिक अपराध गर्दै आएका छन् । केही समयअघि कांग्रेसका एकजना केन्द्रीय सदस्यलाई आमन्त्रित केन्द्रीय सदस्यमा सभापति देउवाले मनोनित गरेमा ५० लाख रुपैंया दिने प्रलोभन देखाएको चर्चा कांग्रेसबृत्तमा ताजै छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष, पटक पटक मन्त्री भइसकेको साउद कांग्रेसमा सम्भावना भएका नेता हुन् । तर विभागका सदस्य नियुक्तिमा समेत रकम लिएका कारण कतिपयले साउदको राजनीतिमा पूर्णविरामको शुरुवात भएको विश्लेषण गरेका छन् ।

अर्कातिर विभागका सचिव बिनिता अधिकारीलाई भने प्रकाशशरण महतको दबाबमा नियुक्त गरिएको हो । प्रदेश नं ३ बाट विभागका सदस्य सिफारिसको जिम्मा लिएका महतले पनि श्रीमति बिना महतमार्फत रकम असुल्दै धमाधम नियुक्त गरेको आरोप छ । बिनिताका श्रीमान सुरेश काफ्लेमार्फत महतले यो काम गरेका हुन् । जबकि खोटाङका पूर्व सांसद सर्वधन राई भने सो विभागका सदस्य छन् । विभागमा अर्का बिबादास्पद व्यक्ति नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका मुकेश काफ्ले सदस्य पनि छन् ।

यसैगरी विश्वप्रकाश शर्मा संयोजकत्वको प्रचार विभागमा एक जना पनि व्यावसायिक पत्रकार समावेश नगरिएका कारण संस्थापनभित्र नै व्यापक असन्तुष्टि बढेको छ । अहिले सदस्यमा नियुक्त हुनेहरु पत्रकारिता पृष्ठभूमिका नगन्य छन् । वीरगञ्जका कन्हैया केशरी, नेपालगञ्जका मेहन्त कर्माचार्यबाहेक सचिवमा नियुक्त सिन्धुपाल्चोकका दिनेश थापादेखि अन्य सदस्यहरु कसको सिफारिसमा कसरी नियुक्त भए भन्ने प्रश्न उठेको छ । प्रवक्ता शर्माले भने नीर शाहलाई समेत विभागमा नियुक्त गरेको भन्दै त्यसलाई आफ्नो सफलताका रुपमा दाबी गरेका छन् ।

कांग्रेसमा युवा पुस्तामा आशा गरिएका अनुहार प्रवक्ता शर्माले प्रचार विभागमा गरेको पछिल्लो नियुक्तिबाट दिनको संकेत बिहानीले गर्छ भनेजस्तै भएको छ । यद्यपि एनपी साउदले जसरी पैसा खाएर नियुक्त गरेको भन्ने आरोप चाहिँ प्रवक्ता शर्मामाथि लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्