काठमाडौँ, २४ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा मंगलवार भएको बिदाइ भेटका अवसरमा राजदूतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको, यो कार्यकालभित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसबाट नेपालको भौगोलिक, सामाजिक, सांकृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गदै कोभिड–१९ ले सिर्जना गरेको विकराल समस्याका बीच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्किएका अष्ट्रेलियन नागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकामा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा हवाई सम्झौता भइसकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकाले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतको सहयोगको अपेक्षा गर्नुभएको थियो । राजदुत वडले आफनो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मन्त्री भट्टराईसँग बिदाइ भेट गर्नुभएको हो ।