काठमाडौं, २४ भदौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गरेका छन् ।
दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा बुधबार आयोजित वरिष्ठ सञ्चारकर्मीसँग अन्तरक्रियामा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई संगठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे ।
शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनुपर्ने जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको बताए ।
‘संविधान प्रदत्त दायित्वको पालना गर्दै नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको छ’ ‘राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र हामी सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेका छौँ ।’ शान्ति सुरक्षाको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा सुरक्षाको दायित्व सबैको उत्तिकै महत्वपूर्ण रहने बताउँदै उनले नेपाली सेनालाई राष्ट्रिय शक्तिको भरपर्दो सङ्गठनको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
सेनाको लोकतान्त्रीकरण गरी व्यावसायिक रुपमा अगाडि बढाउँदै लगिएको प्रसंगमा उनले नागरिक सर्वोच्चताको बारेमा सबैको बुझाइ एउटै हुनु पर्ने बताए । देशका सबै जिल्लामा सेनाको उपस्थिति रहँदा स्रोत र साधन अपर्याप्त हुने हुँदा सेनाको व्यारेक स्तरोन्नति र स्तरीकरण गर्ने दीर्घकालीन सोचसहित प्रदेश नं २ को बर्दिवासमा एकीकृत व्यारेक प्रणाली शुरु गरिएको र यसै वर्ष घनगढीमा पनि कार्यारम्भ हुन लागेको जानकारी दिए ।
प्रधानसेनापति थापाले सेनाको महत्वबारे नागरिकलाई अनुभूत गराउन नागरिक सैनिक सम्बन्धलाई गहिरो बनाउन विभिन्न तहमा अन्तरक्रिया र सामाजिक कार्यलाई तीब्रता दिइएको उल्लेख गरेका छन् । उनले राष्ट्रिय सुरक्षा र नागरिकको सूचनाको हक अन्तरसम्बन्धित रहेको बताउँदै पारिस्परिक सम्बन्ध र समन्वयबाट मात्रै राष्ट्रिय लक्ष हासिल हुन सक्ने बताए । मिडिया र सैनिकबीचको सम्बन्धलाई घनिष्ट तुल्याउन केन्द्रदेखि बाहिनीपति र युनिट तहसम्म उपयुक्त संस्थागत संरचना निर्माणमा जोड दिइएको उनले बताए ।
सन्तुलित, खोजपूर्ण र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उनले नागरिकले अपेक्षा गरेको सेना बनाउन सञ्चार क्षेत्रले पनि मियोको रुपमा काम गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । उनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड—१९ को नियन्त्रणमा आइसोलेन, क्वारिन्टिन व्यवस्थापनदेखि औषधि आयात, सीमा नियन्त्रण, तेस्रो मुलुकबाट आएका यात्रुको व्यवस्थापन, शव व्यवस्थापनलगायत विभिन्न कार्यमा सेनाले अन्य सुरक्षा अंग र सरकारी निकायसँगको सहकार्यमा कार्यहरु गर्दै आएको बताए ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा औषधि आयातको क्रममा रक्षा मन्त्रालयसँग कुनै विवाद नरहेको स्पष्ट गर्दै उनले भने, ‘सरकारको निर्णयवमोजिम नै रक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार प्रक्रियागतरुपमा खरिद गरिएको हो, यसमा कुनै द्वीविधा छैन ।’