- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
संविधान दिवसका दिन गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ लाई चुनौती र अवसरका रुपमा लिएको बताउँदै चालु आर्थिक वर्षको बजेट कोभिड–१९ लाई ध्यानमा राखेर स्वास्थ्य, पूर्वाधार निर्माण गर्ने बताएका छन् । नेपालजस्तो देशमा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ कमजोर पूर्वाधारको बाबजुद उपचारमा उल्लेखनीय प्रगति भएको बताएका छन् । प्रधानमन्त्री ओलीका अुनसार देशभरका ३३ सरकारी अस्पताल र १४ निजी अस्पताल गरी ४७ वटा अस्पतालबाट पिसीआर परीक्षण गरिएको छ । यी अस्पतालहरुको परीक्षण क्षमता दैनिक २३ हजार पाँच सयका छन् । पिसीआर शुल्क पनि घटाएर ८ हजारबाट २ हजारमा झारिएको छ ।
नेपाल र विश्वको यस्तो भयावह अवस्थामा खोपको अग्रपंक्तिमा रहेको रुसी खोप आफ्नो मुलुकमा चाँडोभन्दा चाँडो भित्र्याउन होडबाजी चलेको छ । रुसीखोप निर्माण हुनेबित्तिकै रुसले सो खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउनाका साथसाथै सो खोप नेपालमै उत्पादन गर्न सघाउने रुसी प्रस्तावबारे हालसम्म पनि नेपाल सरकारले हालसम्म पनि कुनै ठोस कदम नचाल्नु सरकारको नालायकीपन हो ।
दशैँको मौसम भएर होला सरकारले ‘लकडाउन’ खोलेसँगै संक्रमितको संस्या पनि बढेको छ । सरकारले आगामी बजेट तर्जुमा गर्दा स्वास्थ्य पूर्वाधारका साथै खोप उत्पादनमा समेत बजेट छुट्याउनु पर्छ । नेपालमा सरकारी र निजी क्षेत्रका औषधि उत्पादक कम्पनीहरुसँग सरकारले सहकार्य गर्दै चाँडोभन्दा चाँडो नेपालमै खोपको उत्पादन गरेको खण्डमा नेपाली जनता अकालमा मर्नुपर्ने छैन ।
अहिले रुसमा ४० हजार व्यक्तिहरुमा यस खोपको तेस्रो चरणको परिक्षण जारी छ । यसमा मस्कोमा लामो समयदेखि बस्दै आएका नेपालका ६१ वर्षीय डा. महेश सिंहसमेतले यो खोप लिएका छन् । उनी सल्यानका हुन् । यसैबीच रुसको सोभरेनवेल्थ फण्डले भारतमा १० करोड डोज स्पूतनिक–५ खोप आपूर्ति गर्ने सम्झौता गरेको छ । रुसले कोरोना भाइरसविरुद्धको पहिलो खोप दाबी गरेको स्पुतनिक–५ खोप भारतीय औषधि कम्पनी डाक्टर रेड्डिज ल्याबरेटरिजलाई फण्डले आपूर्ति गर्न लागेको हो । पछिल्लो समय आफ्नो खोपको वितरण विश्वभर विस्तार गर्ने दिशामा अघि बढिरहेको रुसले बुधबार यस्तो जानकारी दिएको हो ।
रुसको प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) र भारतीय कम्पनीको बीचमा भारतमा ३० करोड डोज खोप उत्पादनको सम्झौता भएसँगै भारतलाई १० करोड डोज खोप दिने सम्झौता भएको हो । रुसका लागि भारत तेल तथा सैन्य सामग्रीको प्रमुख खरिदकर्ता मुलुक हो ।
रुसी समाचारपत्र द मस्को टाइम्सका अनुसार विश्वका ३२ देशहरुले यो खोप लिने इच्छा व्यक्त गरेका छन् । र भारतसहित ब्राजिल, साउदी अरब, कजाखस्तान र मेक्सिकोले यो खोप किन्ने समझौता पनि गरिसकेका छन् । यो खोपलाइ मस्कोस्थित गामालेया रिसर्च इन्स्टिच्युटका वैज्ञानिक र रूसको रक्षा मन्त्रालयले संयुक्तरुपमा निर्माण गरेका हुन् । रुसले विश्वका विभिन्न औषधि उत्पादक कम्पनीहरुसँग मिलेर यो वर्षको अन्त्यसम्ममा एक अरब डोज बनाउने घोषणा गरेको छ ।
विश्वमा कोरोना भाइरसले लगभग चार करोड संक्रमित भइसकेका छन् भने मृत्यु हुनेहरुको संख्या १० लाख पुग्न लागेको अवस्था छ । यसमा अमेरिका पहिलो नम्बरमा छ भने भारत दोस्रोमा । नेपालमा संक्रमितको संख्या ६३ हजार पुग्न लागेको छ भने मृत्यु हुनेहरुको संख्या ४०० नाघिसकेको छ ।
नेपाल र विश्वको यस्तो भयावह अवस्थामा खोपको अग्रपंक्तिमा रहेको रुसी खोप आफ्नो मुलुकमा चाँडोभन्दा चाँडो भित्र्याउन होडबाजी चलेको छ । रुसीखोप निर्माण हुनेबित्तिकै रुसले सो खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउनाका साथसाथै सो खोप नेपालमै उत्पादन गर्न सघाउने रुसी प्रस्तावबारे हालसम्म पनि नेपाल सरकारले हालसम्म पनि कुनै ठोस कदम नचाल्नु सरकारको नालायकीपन हो ।
रुस नेपालको पुरानो र भरपर्दो मित्रदेश हो । रुसले विगतमा पनि निःस्वार्थरुपले नेपालका राजमार्ग र विभिन्न कारखानाजस्ता आधारभूत संरचना निर्माणमा सहयोग गरेकै हो ।
तसर्थ, अब पनि रुसी प्रस्तावलाई ढिलो नगरी स्वीकार गरेर नेपालमा चाँडोभन्दा चाँडो कोरोना खोपको सुनिश्चितता गरिनुपर्दछ । नेपाललाइ कोरोनामुक्त गरिनु पर्दछ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले समेत हालैको एक अन्तर्वार्तामा यो खोप नेपालमा चाँडोभन्दा चाँडो ल्याउनुपर्ने कुरा बताएका छन् ।
Twitter:@rmshghimire