काठमाडौं, ८ असोज ।
देशमा तीन दिनयता निरन्तर झरी परिरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ,’ उनले भने । उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्ण रूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं. १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ ।
राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं. १, २, ५, बाग्मती र गण्डकी प्रेदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
निरन्तरको झरीले धेरै जिल्लामा बाढी तथा पहिरोको प्रकोप बढेको छ । पश्चिम जिल्लाका नदीहरुमा पानीको बहाव बढोके छ ।