काठमाडौं, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेशनल अवार्ड अन गुड गभर्नेन्स’ रोटरी वर्ष सन् २०१९–२० का लागि खोजी पत्रकारितामा संलग्न दुई जना पत्रकारहरुलाई दिने निर्णय भएको छ ।
स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले रु. दश लाख रुपैयाँको उक्त पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्रा कुरा डट कम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई दिने निर्णय भएको छ ।
प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने उक्त एवार्ड यस पटक पुरस्कृत व्यक्ति र संस्थालाई जनही पाँच÷पाँच लाखका दरले वितरण गरिने भएको छ । उक्त पुरस्कार इञ्जीनियर रोटेरियनसुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेको हो । ई. जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर)का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुनुहुन्छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गदै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशका एक÷एक जना गरी ७ जना उत्कृष्ट पत्रकारहरु र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत ५ विधामा निरन्तर कलम चलाउने ५ जना पत्रकारहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि जनही रु. २५ हजार रहेको छ ।
रोटरी वर्ष २०१९–२० मा यस अवार्ड आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौ, शिक्षा पत्रकारिता तर्फ दिपेन्द्र प्रसाद सिंह (न्यूज कारोवार डट कम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौ र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडाँैलाई प्रदान गरिने भएको छ ।
यसैगरी प्रदेश अन्तरगत विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केरनीन्यूज डटकम) कैलालीलाई वितरण गरिने भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरणलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।