काठमाडौं, ११ असोज ।
मल तस्करसँग घुस लिएको आरोपमा चार प्रहरी निलम्बनमा परेका छन् । झापाको दमकमा कार्यरत असईसहितका प्रहरी निलम्बनमा परेका हुन् ।
असई भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र जवान मनकुमार रुवाललाई जिल्ला प्रहरी कार्यालय झापाले निलम्बन गरेको हो ।
उनीहरुले तस्करीको मल बोकेको ट्याक्टर ताराबारी ढाटमा पक्राउ गरेका थिए । मलको बिल नभएकोले तस्करीको भएको पुष्टि भएको थियो । तर, माथिल्लो निकायलाई जानकारी नै नदिई ढाटमा कार्यरत प्रहरीले ट्याक्टर छाडिदिएका थिए । ६५ हजार घुस लिएर छाडेको खुलेपछि निलम्बन गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सीमा बन्द भएपनि तराईका जिल्लाहरुमा तस्करी रोकिएको छैन । कडाईको बहानामा पछिल्लो समय नाकामा घुसखोरी बढेको छ ।
प्रदेश नम्बर ५ का डिआईजी रबिन्द्र धानुकले त सीमाका महत्वपूर्ण चेकपोष्टहरुमा आफु निकटलाई खटाएर पैसा उठाइरहेको स्रोत बताउँछ । सबैभन्दा धेरै कपिलवस्तुबाट तस्करी चलेको छ । एसपी नवराज अधिकारीले तस्करीको लाइन नै चलाएका छन् ।