Logo
Logo

राम्री छौं भन्दा, खिल्ली उडाएजस्तो लाग्छ- शशिकला राई, मोडल


- दृष्टि न्युज/संवाददाता

693
Shares

मोडलिङ क्षेत्रमा चम्किँदो नाम हो, शशिकला राई । धेरैले उनलाई ‘चिनियाँ लुक्स’ भन्छन् । डान्सिङ तथा पुर्वेली गीतको भिडियोमा जम्दै आएकी शशिकला भन्छिन्, ‘कसैले चिनियाँ लुक्सकी भन्छन् त कोही कोरियन र जापानिज । तर, म नेपाली हुँ, नेपाली भएरै चिनिन चाहन्छु ।’ सानैदेखि कलाकारितामा रुचि राख्दै आएकी शशिकला मोडलिङमा करिअर बनाउनकै लागि खोटाङबाट काठमाडौं आएकी बताउँछिन् । शशिकलालाई मोडलिङमा खासै संघर्ष गर्नुपरेन । बुबा गायक र दिदी आयुशा मोडल÷गायिका भएकै कारण आफ्नो रुचि पूरा गर्न सफल भइन् । हाल उनी मोडलिङमा चर्चित छिन् । शशिकलालाई फिल्ममा लिन चाहने निर्माताको सुचिसमेत लामै छ । तर, उनी आफूलाई अझै ‘हिरोइन’ बन्न परिपक्व ठान्दिनन् । एक कल्चरल फिल्ममा देखिन लागेकी उनी भन्छिन्, ‘हिरोइन हुनलाई रुपरंग, हाइट, अभिनय सबै कुरा हुनुपर्छ । तर, ती सबै चिज मसँग छैन । त्यसैले फिल्मको प्रस्तावसमेत इन्कार गर्दै आएकी छु ।’ यिनै मोडल शशिकला राईसँग एमपी सुब्बाको जम्काभेट :

तपाइँको पुखौली घर कहाँ हो ?

खोटाङको ऐशेलुखर्क । अहिले पनि उतै हो ।

काठमाडौं केका लागि आउनुभएको थियो ?

सानैदेखि नाचगान गर्न रुचाउँथे म । २०६८ सालमा एसएलसी सकेपछि आफ्नो रहर र इच्छा पूरा गर्नकै लागि काठमाडौं आएकी हुँ ।

सानैमा कलाकारिताबाट कसरी प्रभावित हुनुभयो ?

गाउँघरमा धेरै नाचगान र नाटकहरु हुन्थ्यो । नाच्न र गाउन भनेपछि हुरुक्कै हुन्थेँ । अलि ठूली भएपछि स्कुलमा हुने नाचगान र नाटकहरुमा सहभागी हुन थालेँ । तिहारमा खुबै नाच्थेँ म । त्यतिकैमा मोडल हुने रहर पलाउँदै गयो । मलाई अभिनय गर्न पनि मनपर्छ ।

अभिनय रुचाउँनुहुन्छ । तर, किन फिल्मतिर लाग्नुभएन ?

हिरोइन हुनमा आफैँलाई फिट छु जस्तो लागेन । तर, अभिनय गर्न मनपर्छ । अहिले टेलिफिल्म ‘चमेली’मा काम गर्दैछु । त्यहीबाट सिक्दैछु ।

इच्छाचाहिँ मोडल कि हिरोइन बन्ने ?

इच्छा त हिरोइन नै बन्ने छ । त्यसकै लागि सिक्दैछु । मोडलिङ पनि रुचि हो । सानैदेखि नाच्दै आएकी हुँ । त्यो अहिले म्युजिक भिडियोमा देखाउँदै आएकी छु ।

मोडलिङको रहर पहिलोपटक पूरा गर्ने अवसर कसरी मिल्यो ?

अवसर पाउन मलाई गाह्रो भएन । मेरो बाबा गाउनुहुन्थ्यो । मेरो दिदी आयुशा मोडलिङसँगै गीत पनि गाउनुहुन्छ । उहाँहरुकै चिनजानबाट सुरुमा स्टेज कार्यक्रमहरुमा प्रस्ताव आउन थाल्यो । विस्तारै मोडलिङका लागिसमेत अफर आउने थाल्यो ।

गाउनचाहिँ रुचाउँनु हुन्न ?

मलाई गाउन पनि मनपर्छ । नाचगान भनेपछि सबै मनपर्छ । अलिअलि गाउँदै पनि आएकी छु । अहिले सिक्दैछु । दशैँ–तिहारपछि आफ्नै स्वरमा पुर्वेली लोकगीत ल्याउँदैछु ।

फिल्ममा अफरहरु आएको छैन ?

अफरहरु आइरहेका छन् । तर, मैले नै अस्वीकार गर्दै आएकी छु । आफ्नै अभिनयमा म कन्फ्युज छु । राम्रो गर्न सकिदनँ कि जस्तो लाग्छ । तैपनि फिल्म ‘सायाबुङ–२’मा अभिनय गर्ने भएकी छु । ढिलो–चाँडो दर्शकले मलाई हिरोइनका रुपमा देख्न पाउनेछन् ।

मोडलिङ क्षेत्र अहिले कस्तो लाग्दैछ ?

रमाइलो लागिरहेको छ । खुसी छु । दुःख र मिहिनेत भन्ने आफ्नो ठाउँमा छ । घामपानी नभनी काम गर्नुपर्छ । तर, जब दर्शकको माया र हौसला पाउँछु, अनि खुसी लाग्छ ।

तपाइँलाई ‘कोरियन लुक्स’’ मोडल भन्दारैछन् नि ?

धेरैले चाइनिज जस्तो भन्छन् । कसैकसैले कोरियन र जापानीन जस्तो पनि भन्छन् । तर, म कोहीजस्ती छैन । नेपाली जस्ती नै छु । नेपाली भएरै चिनिन चाहन्छु ।

कसैलाई ‘राम्री छौं’ भनेर प्रशंसा ग¥यो भने कस्तो लाग्छ ?

मेरो खिल्ली उडाएजस्तो लाग्छ । म आफूलाई राम्री लाग्दैन । मेकअपमा मात्र राम्री देखिएकी हुँ ।

राम्री देख्नेहरुले प्रेम र विवाहको प्रस्ताव त राखेका होलान् नि ?

एक जना युवतीका लागि यो सामान्य हो । तर, अहिलेसम्म मैले प्रेम र विवाहबारे सोचेकी छैन । अझै धेरै सिक्नु र गर्नुछ । त्यसैले सिंगल छु । अझै केही वर्ष सिंगल नै बस्ने छु ।

दशैँको योजना के छ ?

यसपटक खोटाङ जाने सोच छ । फोहोरसाल दशैँमा कार्यक्रमका सिलसिलामा कतारमा थिएँ । त्यसैले घर जान पाइनँ । घरमा बाजे–बोज्यू हुनुहुन्छ । उहाँहरुको हातबाट टिका थाप्ने मन छ ।

 

प्रतिक्रिया दिनुहोस्