काठमाडौं, १५ असोज ।
आज मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा नयाँ मुख्यसचिव नियुक्तिको सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।
मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर नयाँ मुख्यसचिव नियुक्तिको तयारी गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रसचिव शंकरदास बैरागीलाई बनाउने तयारी छ । अर्का सचिव केदार अधिकारी पनि मुख्यसचिवको प्रतिस्पर्धामा छन् ।
बैरागी र अधिकारी मुख्यसचिव नभए २२ असोजबाट अवकाश पाउने भएकाले मुख्यसचिवलाई राजिनामा गराएर उनीहरुमध्ये एकलाई मुख्यसचिव बनाउन लागिएको हो । मुख्यसचिव रेग्मी बेलायतको राजदूत बन्ने सम्भावना छ ।
आज निर्णय हुन नसके सोमबारको मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवबारे निर्णय हुने सम्भावना छ।