काठमाडौं, १५ असार ।
आफु नेपाल प्रहरीको इन्सपेक्टर भएको भन्दै यूनफिर्म समेत लगाएर हिड्ने र ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई यूनफिर्म लगाएकै अवस्थामा पक्राउ गरेको हो। उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएको पर्साकी एसपी गंगा पन्तले बताइन् ।
बुधबार भने वीरगन्ज–१६ को देव पार्टी प्यालेसमा उनी प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए।
उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई परीक्षामा संलग्न गराएका थिए। प्रहरी उपरीक्षक पन्तका अनुसार यी परीक्षार्थीलाई भर्ना गरिदिने भन्दै उनले ठग्न खोजेका थिए।