काठमाडौं, १५ असोज । डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै आपत्ति नेपाल चिकित्सक संघले जनाएको छ । संघले डा. केसीसँग सार्थक वार्ता गरी समस्याको यथाशीघ्र समाधान निकाल्न प्रेस विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा सरकारले यथाशीघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा समस्या समाधान गर्न अपरिहार्य भएको संघले ठहर जनाएको छ । डा. केसीको जीवन रक्षा गर्न कठोर कदम चाल्नुपर्ने गम्भीर परिस्थिति सिर्जना नगर्न चेतावनी दिएको छ । वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न संघ तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
१७ दिनदेखि अनशनरत डा. केसीलाई जुनसुकै बेला सघन उपचार कक्ष (आईसीयू)मा लैजानुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।
उपचारमा संलग्न डा. सुवास आचार्यका अनुसार डा. केसीको मुटुको चालमा तीव्रता आएको छ । रिँगटा लाग्ने गरेको, थकान महसुस भइरहेको, ब्लड सुगर न्यून रहेको उपचार टिमका संयोजक डा. आचार्यद्वारा जारी मेडिकल बुलेटिनमा उल्लेख छ ।