काठमाडौं, १६ असोज ।
निषेधाज्ञा खुलेपछि उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिदै गएको छ । एकैदिन उपत्यकामा १६ सय भन्दा धेरै संक्रमित भएका छन् । शुक्रबार उपत्यका तथा देशमा संक्रमितको नयाँ रेकर्ड बनेको छ ।
स्वास्थ्य तथा जनसंख्याका अनुसार काठमाडौमा १२८०, ललितपुरमा १६२ तथा भक्तपुरमा १९६ जना संक्रमित थपिएका छन् ।
शुक्रबार देशभरी २७२२ जना संक्रमित थपिएका छन् । १४ हजार ७ सय ३९ जनामा परीक्षण गर्दा यती संक्रमित थपिएका हुन् ।
शुक्रबारको संक्रमणले अब संक्रमितले उपचार नै नपाउने जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्न सिफारिस गरेको छ । हाल संक्रिय संक्रमितको संख्या २१२३४ छ । यही गतिमा बढेमा केही दिनमै २५ हजार पुग्नेछ । त्यो अवस्थामा फेरि लकडाउन हुनसक्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् ।