काठमाडौं, १७ माघ ।
बुधबार प्रहरीलाई खबर आयो– लाजिम्पाटमा आठ लाख १५ हजार रुपैयाँ लुटपाट भयो । बन्दुक देखाएर नियन्त्रणमा लिई एक समूहले स्याङजाका तिलकराम अधिकारीबाट लुटपाट भएको खबर आएको थियो ।
अधिकारी र उनका साथी अमृत डुम्रेलाई बेहोस बनाइएको समेत बताइएको थियो । उनीहरु बेहोस नै भएका थिए । अस्पताल भर्ना भइसकेका थिए ।
गम्भीर किमिसको घटना लागेपछि महानगरीय प्रहरी अपराध महाशाखाले समेत उनीहरुमाथि छानबिन अघि बढायो । सोधपुछ गर्दा उनीहरुको कतिपय कुरा शंकास्पद लाग्यो । अन्ततः के पत्ता लाग्यो भनेर लुटेराले बेहोस बनाएको भन्दै उनीहरुले आफैं क्लोरोफर्म सुंघेर बेहोस भएका थिए । उनीहरुको उदेश्य आठ लाख १५ हजार कमाउने थियो ।
अधिकारी गंगबुस्थित रियल टाइगर्स टुर्स एण्ड ट्राभलमा काम गर्दथे । ८ लाख १५ हजार रुपैयाँ बैंकमा जम्मा गर्न पठाइएको थियो । सो पैसा लुटपाट भएको भनेर नाटक गरी आफैंले लुकाउने योजना उनीहरुको थियो । सोहीअनुसार पैसा साथी डुम्रेको कोठामा लगेर राखे, अनि क्लोरोफर्म सुंघेर बेहोस भए ।
थोरै नाटक त गरे, तर प्रहरीलाई धेरै समय गुमराहमा राख्न सकेनन् । प्रहरीले लुकाएको नगदसहित उनीहरुलाई पक्राउ गरेको छ । पैसा लुकाउनका लागि उनीहरुले नाटक गरेको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।