काठमाडौं, १८ असाेज ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बिद्यार्थी संगठन अनेरास्ववियूमा एकताका प्रक्रिया विवादमा परेको छ । संयोजक र सहसंयोजकले आफु निकटलाई जिम्मेवारी दिन लागेपछि विवाद भएको हो ।
तत्कालीन निर्वाचित नेतृत्वलाई पाखा लगाएर जिल्ला कमिटीको एकता प्रक्रिया टुंग्याउन खोजेको भन्दै वरिष्ठ नेता माधवुकमार नेपाल समूह रुष्ट बनेको छ । निकट तत्कालीन अनेरास्ववियुका सचिवहरु सुदेश पराजुली, आरती लामा र ओसिम आलमले आफ्नो समूह निकट जिल्ला नेतृत्वलाई हटाइएको भन्दै विरोध गरेका छन् ।
संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले असोज मसान्तभित्र जिल्ला, क्याम्पस र मातहत कमिटीको एकता प्रक्रियालाई पूर्णता दिन १५ असोजमा जारी गरेको सर्कूलरप्रति उनीहरुले विरोध गरेका छन् । आजै उनीहरुले नेकपाले तोकेको विद्यार्थी फाँट ईन्चार्ज हितमान शाक्य र सहईन्चार्ज विनोद ढकाललाई भेटेर नोट अफ डिसेन्ट राख्ने तयारी गरेका हुन् ।
तत्कालीन अनेरास्ववियुका सचिव पराजुलीले बारा, दाङ, महोत्तरी, गोर्खा, मनाङ, दार्चुला, कैलाली, हुम्ला, जुम्लालगायतका जिल्लाहरुमा निर्वाचित नेतृत्वलाई हटाएर संयोजक महरले एकलौटी जिल्ला संयोजक र सहसंयोजक तोकेको र अहिले उनीहरुकै नेतृत्वलाई वैधानिकता दिनेगरी एकता प्रक्रिया टुंग्याउन सर्कूलर जारी गरेकाले विद्यार्थी फाँट ईन्चार्ज र सहईन्चार्जमार्फत नोट अफ डिसेन्ट राख्न लागिएको जानकारी दिए ।