- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
कोरोना भाइरसको उपचारका लागि रूसी खोप स्पूतनिक–५ विश्वमा सबभन्दा पहिले प्राप्त गर्ने राष्ट्रहरुको सूचीमा नेपाल पनि सामिल भएको छ ।
गत मंगलबार रूसको सरकारी सार्वभौम सम्पत्ति कोष रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआइएफ) ले नेपाललाई २ करोड ५० लाख डोज कोभिड–१९ खोप उपलब्ध गराउने सहमति गरेको समाचार विश्वव्यापी बनेको छ । कोषले एउटा निजी फर्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड–१९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको छ ।
यस सहमतिअनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड–१९ खोप ‘स्पुतनिक–५’ उपलब्ध गराउन सकिने जनाइएको छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ । सीएनएन, रोयटर्स, द गार्डियन, युएसए टुडे, न्यूज ट्वान्टी–फोर डटकम, स्वीस इन्फो, कोभिड नाइन्टिन डेटालगायत विश्वभरका अन्तर्राष्ट्रिय मिडियाहरुले यो समाचारलाई प्राथमिकता दिएका छन् ।
काठमाडौँस्थित रूसी दूतावासको सहयोगमा आफूहरूले यो सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले बताएका छन् ।
तर, रुसको सरकारी कम्पनीसँग रुसी राजदूतावासको सहकार्यमा भएको यस सम्झौताबारे नेपाल सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआउनु आश्चर्यको विषय भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणसम्बन्धी नियमितरुपमा गरिने प्रेस ब्रिफिङमा भनेका थिए, ‘खोप बनिसकेपछि नेपाल सरकारले आफ्नै पहलकदमीमा नेपालमा खोप उपलब्ध गराउँछ । कुनै निजी कम्पनीले बाहिर सम्झौता गरेको भन्ने हल्लाहरू पनि आएका छन् । यी हल्लाहरूको पछि नलाग्न म अनुरोध गर्दछु ।’ यसले नेपाली जनताले समयमै खोप पाउने कुरामा थप जटिलता उत्पन्न गरेको छ ।
तर, प्रवक्ता डा. गौतमका अनुसार सम्झौताकर्ता ट्रिनिटी फर्मास्युटिकल्सले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत सम्बन्धित निकायलाई जानकारी नगराई यो सम्झौता गरेको कारण विवाद उत्पन्न भएको छ । त्यसो त कम्पनीले अहिले सम्झौता मात्र गरेको र पछि प्रक्रिया पु¥याएर खोप उत्पादन गर्ने भनेको छ । तर, निजी क्षेत्रको उक्त औषधि उत्पादक कम्पनीका सञ्चालकहरुको छवि राम्रो नभएकोले कतै बिचौलियाहरुलाई अगाडि सारेर सम्झौता त गरेका होइनन् भन्ने आशंका पनि जन्मिएको छ ।
नेपालमा पछिल्लोपटक यस्ता घटना धेरै दोहोरिएका छन् । राज्यको माथिल्लो तहसँग सेटिङ गरेर सहमति गर्ने अनि पछि त्यसको रहस्य पर्दाफास हुने गरेको कुरा नौलो होइन । यस विषयमा धेरै वादविवाद गर्नुभन्दा स्वास्थ्य सेवा विभागले ट्रिनिटीसँग गरेको सम्झौताका आधारहरु समयमै केलाएर कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने कम्पनीहरुलाई सहजीकरण गरिनुपर्छ । र, यो खोप नेपाली जनतालाई निःशुल्क उपलब्ध गराइनुपर्छ । अहिले पनि नेपाली जनता रोजगारी गुमाएर सडकमा भौतारिनु पर्ने अवस्थामा छन् । कोरोनाले धनी गरिब भन्दैन । सामान्य पिसीआरसमेत गराउन नसक्ने गरिब नेपाली जनताको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न पनि सरकारले खोप निःशुल्क उपलब्ध गराउनुपर्छ । समाजवाद उन्मुख नेपालको संविधानले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कुरालाई मौलिक अधिकारमा राखेर मात्र हुँदैन । यस्तो विपद्को बेला संविधानले जनताका लागि ग्यारेन्टी गरेका अधिकार नेकपा सरकारले कार्यान्वयन गर्नुपर्दछ ।
नेपालकै देउराली जनता फर्मास्युटिकल्सले पनि कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको समाचार बाहिर आएको छ । यस विषयमा पनि सरकार अनभिज्ञजस्तै देखिँदैछ । समाचार बाहिर आएपछि मात्रै सूचना पाउने स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप नेपालमा उत्पादन गर्नेतिर ध्यान दिएको देखिँदैन । सरकारले यस कुरालाई ध्यानमा राखेर औषधि व्यवस्था विभागबाटै खोप उत्पादन गर्न सके सबै विश्वस्त हुने थिए । नेपालमा पनि पछिल्लोपटक कोरोना संक्रमण व्यापक बन्दै गएको छ । दशैँ, तिहारपछि यो संक्रमण संख्या थप हुने कुरा विज्ञहरुले बताइरहेका छन् । त्यसैले सरकारले उपचारसँगसँगै खोप उत्पादनमा ध्यान दिएको भए अनावश्यक विवाद उत्पन्न हुने थिएन । विश्वभरि नेपाललाई रुसी खोप उपलब्ध गराउने सूचना प्रवाह भइरहँदा नेपाल सरकार भने बेखबर हुनु आफैँमा लज्जाजनक कुरा हो ।
विश्वका धेरै मुलुकमा कोरोना खोपको लागि काम भइरहेका छन् । तर त्यसमा सबभन्दा अगाडि रुस नै छ । किनभने रुसी स्वास्थ्य मन्त्रालयले यो खोपलाई अगस्ट ११ मै दर्ता गरिसकेको छ । हाल यस खोपको तेस्रो र अन्तिम चरणको परीक्षण रुसका ४० हजार नागरिकमा भइरहेको छ । रुसी स्वास्थ्य मन्त्रालयका अनुसार यसको परिणाम यसै महिनाको अन्त्यमा वा नोभेम्बर महिनाको शुरुमा प्रकाशित हुनेछ । त्यसपछि यसलाई विश्व स्वास्थ्य संगठनलगायत सम्बन्धित मुलुकमा दर्ताको प्रक्रिया शुरु गरिने छ ।
कोभिड–१९ ले विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलिना ट्रम्प संक्रमित भएका छन् । यस महामारीले अहिलेसम्म विश्वमा ३ करोड ५१ लाख संक्रमित भइसकेका छन् । मृत्यृ हुनेको संख्या १० लाख ३८ हजार नाघिसकेको छ । नेपालमा खतरनाकरुपमा संक्रमण र मृत्युदर बढिरहेको छ । हालसम्म संक्रमितको संख्या ८५ हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ५२८ नाघिसकेको छ । विश्व र नेपालको यस्तो गम्भीर स्थितिमा यो खोप आउनु भनेको सम्पूर्ण मानवजातिकै लागि सुखद् कुरा हो । रुस अहिले पनि विश्वशक्ति मुलुककै रुपमा रहेको छ । सोहीअनुरुप विश्वमा आफ्नो भूमिका बढाउँदै लगेको छ । कोरोना खोप पनि त्यही शृंखलाको एउटा दह्रो पाइला हो ।
आफ्नो मुलुकमा कुन खोप प्रयोग गर्ने भन्ने कुरा सम्बन्धित मुलुकले निर्णय गर्ने कुरा हो । तसर्थ, खोपको अन्तिम परीक्षण सफल हुनासाथ नेपालमा सो खोपको प्रयोग एक दिन पनि ढिला नगरी लगाउने व्यवस्था सरकारले अहिलेदेखि नै गर्नु पर्दछ । जसले गर्दा नेपालको जनजीवन चाँडोभन्दा चाँडो सामान्य होस् ।
Twitter:@rmshghimire