रसुवा, २३ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विद्युत्गृहको आज स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गर्नुभएको हो ।
विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिनुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । उहाँले यसै गरी गल्छी– रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेँसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।
भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको राजमार्ग मंगलबार साँझदेखि सञ्चालनमा आएपछि नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गर्नुभएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।