Logo
Logo

भजनीका ५३५ घर नदी कटानको उच्च जोखिममा


- दृष्टि न्युज/संवाददाता

0
Shares

कैलाली, २५ असोज । कैलालीको भजनी नगरपालिका–५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् । भजनी नगरपालिका वडा नं ५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ । यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै आएका छन् ।
बाईस टोल रहेको वडामा एक हजार ३५० घरधुरी छन् । यहाँका नागरिकले मोहना नदी कटानले वर्षेनी दुःख झेल्दै आएका छन् । वडा नं ५ का चम्रैदा, लखरया, कालापातल, फाटाटोल र सानो कौवाखेडाका करिब १८२ घर मोहना नदी कटानको जोखिममा छन् भने क्रवला, लौबस्ता, लालबोझी, भगतपुर, कर्मदेव, नयाँ बस्ती, बेलाहा, मिलानपुर, पिपरकोटी, दुदुवाफाटा र ठूलो कौवाखेडाका करिब ३५३ घर कन्द्रा नदीको कटानको जोखिममा छन् । यहाँ वर्षात्मा मात्र नभई हिउँदमा पनि कटान भइरहेको मिलानपुरकी विष्णु रेग्मी बताउँछन् । उनले भने, ‘नदीमा पानी बढे बाढी आउँछ, नदी बस्तीमा पसेर खेतीयोग्य जमिन पटान हुन्छ, हिउँद भएमा थप कटान हुन्छ । हामी ढुक्कले कहिल्यै सुतेका छैनौँ, सधैँ डर र तनावमा जीवन चलेको छ ।’
यहाँ नदी कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ । नदी कटानले सयौंँ परिवार घरवारविहीन भएका छन् । यस वर्ष गत साउनमा आएको बाढीले त्यहाँका सयौँ परिवार विस्थापित भएका थिए । बेलहाका टीकाराम भण्डारी नदी कटानले वर्षेनी यहाँका नागरिक दुःख झेलिरहेको बताउँछन् । ‘बाढी आएपछि करिब एक महिना विस्थापित हुनुप¥यो, दुई ठूला नदीले घेरेकाले यहाँका नागरिक सधैँ त्रासमा रहन्छौँ’, भण्डारी भने, ‘नदी नियन्त्रणका लागि सरकारले तदारुकता देखाउन आवश्यक छ । यहाँ खेतीयोग्य जमिन छ । खेती राम्रो हुन्छ । यो ठाउँ जोगाउन स्थायी तटबन्ध गरिन आवश्यक छ ।’
पगिया पसारका नृप बुढा नदी कटान र पटानबाट नागरिकलाई उन्मुक्ति दिन सरकारले बृहत तटबन्ध गरिदिनुपर्ने माग गर्छन् । उनले भने, ‘बाढीपछि धेरै नेताले यो क्षेत्रको निरीक्षण गर्नुभयो । तर गरौँ भन्ने भावना कसैमा देखिएन । खेतीयोग्य सयौँ बिघा पटान भएर नागरिकलाई भोकमरीको समस्या हुने देखिएको छ ।’
यस वर्ष बाढीले सयौँ बिघामा लगाएको धानबाली पटान गरेको छ । स्थानीय शर्मिला चौधरीको पाँच कठ्ठा जमिन थियो । बाढीपछि भएको पटानले उनको पूरै जमिनमा बालुवा भरिएको छ । गत साउन १४ गते आएको बाढीपछि बस्तीमा धेरै नागरिकलाई मनोसामाजिक समस्या देखिन थालेको छ ।
सामाजिक अभियानकर्मीले समस्या देखिएका नागरिकलाई मनोसामाजिक परामर्शदातासँग छलफल गराइदिने गर्न थालेका छन् । नदी कटानका कारण खेतीयोग्य जमिन कटानको समस्या एकातिर छ भने बाढीले सयाँै बिघा जमिनको धानबाली पूर्णरूपमा नष्ट गरेको छ । नदी कटान नियन्त्रणका लागि भजनी नगरपालिका आफैँले नसक्ने भएकाले प्रदेश सरकारलाई गुहारेका वडा नं ५ का वडाध्यक्ष केशव बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्