काठमाडौं, ३० असोज ।
दुई वर्षअघि भक्तपुरमा दुई युवकको प्रहरी गोलीबाट भएको मृत्यु मुठभेठ नभई नियोजित हत्या भएको निष्कर्ष राष्ट्रिय मानव अधिकार आयोगले निकालेको छ । आयोगको बुधबारको बैठकले घटनामा संलग्न ६ प्रहरीलाई ज्यान मुद्दा चलाउन सिफारिस गर्ने निर्णय गरेको छ । अपहरणका आरोपी दुई युवकलाई पक्राउ गरेर गोली हानि हत्या गरेको आयोगको ठहर छ ।
बलक निशान खड्काको अपहरणमा संलग्न भनिएका दुई युवकको सूर्यबिनायक जंगलमा प्रहरी गोलीबाट मृत्यु भएको थियो । अपहरणपछि हत्यामा संलग्न भएको आरोप लागेका अजय तामाङ र गोपाल तामाङको २० साउन २०७५ मा प्रहरी गोली लागेर मृत्यु भएको थियो । भाग्न खोज्दा उनीहरुलाई गोली हानिएको प्रहरी दाबी थियो । तर, छानबिनको क्रममा उनीहरुलाई डेराबाटै पक्राउ गरिएको र घटनास्थलमा मुठभेडको कुनै प्रमाण नभएकाले प्रहरीबाट मानव अधिकारको गम्भीर उल्लंघन भएको ठहर गरी आयोगले ज्यान मुद्दा चलाउन सिफारिस गर्ने निर्णय गरेको हो । आयोगले शुक्रबार यसबारे औपचारिक रुपमा दोषी प्रहरीको नाम सार्वजनिक गर्दैछ । महानगरीय अपराध महाशाखाका प्रहरी सो विवादास्पद इन्काउन्टर घटनामा संलग्न भएका थिए । स्रोतका अनुसार मुद्दा चलाउन सिफारिस गरिएकामा सिनियर प्रहरी अधिकृत समेत छन् ।
सो घटना लगत्तै मृतकका परिवारले आयोगमा उजुरी दिएका थिए ।
आयोगले सर्वाेच्च अदालतका पूर्व न्यायधीश ताहिर अली अन्सारीको नेतृत्वमा विवादास्पद इन्काउन्टर घटनाको छानबिन समिति बनाएको थियो । सो समितिको प्रतिवेदनका आधारमा आयोगले दोषी प्रहरीमाथि मुद्दा चलाउने निर्णय गरेको हो ।
आयोगका अध्यक्षसहितका पदाधिकारीले अनिवार्य अवकाश पाउनुभन्दा चार दिन अघि यस्तो ‘बोल्ड’ निर्णय गरेका हुन् । यो निर्णयको प्रहरीमा दुरगामी असर पर्ने आँकलन गरिएको छ ।
त्यस्तै आयोगले कुमार पौडेल इन्कान्टर घटनामा संलग्न प्रहरीलाई पनि मुद्दा चलाउनैपर्ने अर्काे निर्णय गरेको छ । आयोगले गत वर्ष नै इन्काउन्टरमा संलग्न तीन प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन र आदेश दिनेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । गृह मन्त्रालयले त्यस्तो कारबाही गर्न नसकिने भन्दै निर्णयमा पुर्नविचार गर्न आग्रह गरेको थियो । सो निर्णयमा पुर्नविचार हुन नसक्ने ठहर भएको आयोगका एक सदस्यले बताए ।
गत वर्ष ५ असारमा सर्लाहीको लालबन्दीमा प्रहरीको गोलीबाट पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो मुठभेडमा मृत्यु भएको बताए पनि आयोगले दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था नरहेको भन्दै इन्सपेक्टर शाहसहित हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथि मुद्दा चलाउन सिफारिस गरेको हो ।
त्यस्तै इन्सपेक्टर किरण न्यौपाने र सई सूर्य कुमार कार्कीलाई विभागीय कारबाही गर्न भनिएको छ । तर, गृह मन्त्रालयले सिफारिस कार्यान्वायन गरेको छैन । तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष मातहतमा खटिएका ती प्रहरीले पौडेलमाथि गोली हानेका थिए ।
खनालकै कार्यकालमा प्रहरीमा विवादास्पद इन्काउन्टरहरु भएका थिए । जसकारण यतीबेला धेरै प्रहरी अधिकृतहरु छानबिनमा तानिएका छन् ।
त्यस्तै अन्य इन्काउन्टर घटनाको भने थप छानबिन गर्ने निर्णय आयोगले गरेको छ । दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे लगायतको इन्काउन्टर घटनामा उनीहरुको परिवारसँग थप बुझ्ने निर्णय भएको छ ।
यसरी एकपछि अर्काे इन्काउन्टर घटनामा संलग्न प्रहरीमाथि मुद्दा चलाउन सिफारिस भएपछि प्रहरी अधिकारी भने चिन्तित बनेका छन् । यसले प्रहरीको मनोबल गिराउने उनीहरुको भनाई छ ।
एक प्रहरी अधिकारी भने तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको गलत नीतिको परिणाम अहिले सिंगो संगठनले भोग्नुपरेको बताउँछन् । खनाल अपराधमा संलग्नलाई गोली हान्न प्रहरीलाई निर्देशन दिने गर्दर्थे ।