Logo
Logo

बैदेदिक रोजगारबाट फर्किएका महिलालाई स्थापित हुनै सकस


- नन्दा थापा/दृष्टि न्युज संवाददाता

693
Shares

नन्दा थापा/ बाजुरा, ५ कात्तिक । रोगसँगै भोक गाउँमा आएको छ । सबै बेरोजगारी भएका छन् । गाउँमा आयस्रोत गर्न कुनै ठाउँ छैन । भएको आर्थिक जति सबै सकिएको अवस्था छ । बेरोजगार भएका मध्ये पनि केहीका गाउँमा घर समेत छैनन् । केही विद्यालयका क्वारेन्टाईनमै बसे अब कता जाने भन्ने पीरलो उनीहरुमा सुरु हुन लागेको छ । यीमध्ये पनि भारतमै काम गरेर बसेका र अहिले घरमा आउदा घरव्यवहार समाल्न सुरु गरेका महिलाहरुलाई झन पीडामाथि पीडा भएको छ ।

बडिमालिका नगरपालिका–४ का शान्ति सिंहको भारतमा लामो बसाइ भयो । आनन्दको रोजगार, श्रीमान श्रीमतीकै राम्रो कमाई हुँदा छोरा छोरी दाई काठमाडौं र धनगढीको राम्रो विद्यालयमा पढाई भईरहेको थियो । जब कोरोना भाइरस कोभिड–१९ महामारी विश्वभरि फैलियो । त्यसपछि भारत हँुदै नेपालमा पनि यो रोग देखियो । भारतबाट आमाबुवा र पढाई छोडेर छोराछोरी घरमा आए, घरमा आउदा ७ वर्षको घरको ताला शान्तिले खोल्नु त भयो तर घरमा केही थिएन । कोरोनाले शान्तिको परिवारलाई अहिले अलपत्र अवस्थामा पुर्याइदिएको छ ।

न खानलाई गास छ न बस्नलाई नै छ । उनी भन्छन, “जिम्मेवारी धेरै बढ्यो । छोराछोरीले चप्पल चाहियो मम्मी, कस्ले विस्कुट खायो मम्मी भनीहरका छन्, वर्खाको बाढीले खेत गडा बगाएर माथिल्लो गडा तल्ला गडामा ल्याएको छ, घर चिराचिरा छ, वर्खा त विद्यालयमा बसी बसी गयो हिउदमा बस्नलाई घर छैन, हामीलाई स्थानिय सरकारले नहेरेमा हामी त फेरी गुजाराको लागि भारत जाने तयारीमा छौं ।”

बडिमालिका नगरपालिका ४ कै मिना थापाको समस्या पनि सिहंको जस्तै छ । उनलाई पनि कोरोना भाईरस कोभिड १९ संक्रमण देखियो, भारतको लामो बसाईपछि घर आउनु भयो । उनको पनि घरमा २ वर्षको अवधिमा खेतीपाती लगाईएको थिएन ।

खाली घर मात्र, घरमा खाने कुरा केही नभए पनि घर पुगेपछि आफ्नै ठाउँमा ढुक्कसंग बसिएला भन्दा त, उनलाई नै कोरोना रिपोट पोजेटिभ आयो । २ महिनासम्म क्वारेन्टाईन हुदै होम आईसोलेशमा बस्नु पर्यो । त्यहाबाट फर्किदा अहिलेसम्म भारतबाट कमाएर जम्मा गरेको जति सबै रुपीयाँ सकिएको छ ।

उनी भन्छन्, “फेरी पनि भारत जान पाईए मरेपनि उतै जान मन लागेको छ ।” अहिले कामको बोझ पनि थापाकै थाप्लोमा थपीदा झन तनावको अवस्थामा उनको दैनिकी वितीरहेको छ । उनी भन्छन्, “पुरुषहरु त क्या छ खाएका छन्, बसेका छन्, छोराछोरीले मलाई अत्याईरहेका छन्, खर्चपानी के गरौं, केले विद्यालयको खर्च जुटाउने, वर्खाको समयमा खेतबारीमा काम गरेको भए अहिले खेती उकेर्न हुन्थ्यो, २८ दिनसम्म विद्यालयको क्वारेन्टाईन कुरीयो, त्यसपछि कोरोना रिपोर्ट पोजेटिभ आयो, फेरी १२ दिन होम आईसोलेसनमा बसे, खेतीपाती लगाउन पाईएन, चामल उदारो खाइरहेका छौं, आफूजसो भएपनि छोराछोरी त पाल्नै पर्यो त्यसको लागि भारत नगए झन बाच्नै गाह्रो छ ।”

बडिमालिका नगरपालिका ४ कै दिला उखेडाको कमाई पनि भारतमा राम्रो थियो । १५ हजार श्रीमान र ९ हजार मासिक उनको आफ्नो व्यक्तिगत कमाई भईरहन्थ्यो । घर छोडेर भारत गएको उहाँको पनि ३ वर्ष भएको थियो ।

अहिले उनको पनि कमाई भएर बाँचेको जति रुपीयाँ चामल किनेर खादै सकिएको छ । घरमा आम्दानीको स्रोत केही पनि छैन, खेतबारीमा काम गर्ने बेला कोरोना रिपोट पोजेटिभ आउदा क्वारेन्टईन र आईसोलेशमै दिन बिताउनु पर्यो ।

उनी भन्छन्, “काम स्थानिय सरकारले हाम्रो समस्या बुझिदिनु पर्यो, यहाँ केही रोजगार पनि छैन, खेतीपाती लगाउने समयमा क्वारेन्टाईन र आइसोलेसनमा बस्नुपर्यो, अब कात्तिकमा लगाएको गहुँ खेती खाउला भन्ने आशा मात्र छ, हामीलाई जीविकोपार्जनको लागि अरु केही नभएपनि खानको लागि खाद्यन्न दिनुपर्यो ।”

बडिमालिका नगरपालिकाले जिल्लामा लकडाउन सुरु हुने वित्तिकै राहात वितरण गर्यो । नगरपालिकाले समान तरिकाले राहात वितरण गर्दा हुने खाने र हुदा खाने सम्मकाले राहातको महसुश गर्न पाए । त्यतीबेला कसैलाई पनि भोकमरी भएको छ भन्ने अनुभति पनि भएको थिएन तर अहिले कोरोनाकै कारण स्वदेश फर्कीएका, बेरोजगार भएकाहरुलाई दैनिकी चलाउन नै मुस्किल भएको छ ।

यता नगरापालिकाका उपप्रमुख कविता विष्ट कोही पनि सम्पर्कमा नआएको भन्दै अवस्था बुझदै समस्या समाधान तर्फ अधि बढ्ने बताउछिन । बैदेशिक रोजगारबाट आए, कसैले पनि सम्पर्क गर्नुभएन, वडा अध्यक्षलाई बैदेसिक रोजगारबाट आएकाहरुको अवस्था के छ भनेर लगत संकलन गर्न निर्देशन दिएकी छु उनले भनिन् ।

यो भन्दा अगाडी उनीहरुलाई रोजगार सृजना नगरे पनि अहिले हामीले विभिन्न संघसस्थाहरुसंग समन्वय गरेर विदेशमा बस्दा उनीहरुले जस्तो तालिम लिएर काम गरेका थिए माग आधारमा त्यस्तै तालिम दिने योजना छ, विदेशबाट आएकालाई सिप प्रदान गरी जिवीकोपार्जन गर्ने योजना रहेको उपप्रमुख विष्टले भनिन् ।

कोरोना महामारीका कारण बडिमालिका नगरपालिकामा २ जनाले ज्यान गुमाएका छन् । त्यसमा एक जना पुरुष र एक जना महिला छन् । उनीहरु दुवैजना भारतबाट आएका थिए । अहिले सम्म जिल्ला ५ सय ७६ जनाले कोरोना जितेका छन् । त्यसमा १ सय ९५ जना महिला छन् । त्यसमा ५९ जना बडिमालिका नगरपालिकाका हुन् ।

जिल्लामा भदौं २४ सम्म १० हजार जना विदेशबाट जिल्ला भित्रीएकोे तथ्याङ्क जिल्ला प्रसाशन कार्यलय बाजुरामा छ । पछिल्लो समयमा कति जना भित्रीए भन्ने तथ्याङ्क भेटिएको छैन र कोरोना महामारी छ कि ? छैन ? भन्ने चेकजाँच पनि भएको पाईदैन ।

घर भित्र बस्दा पनि कोरोना सर्छकी भन्ने डर मान्छेलाई छ । दैनिक जसो मर्ने र संक्रमित हुनेको संख्या हेर्दा त्रास मात्र छैन्, जीवन बारे चिन्ता परिरहेको हुन्छ । सबैलाई चेतना छैन् । सचेतना फैलाउन पनि सहज छैन् । गाउँमा यतिखेर मान्छेको जमघट धेरै छ । विशेषगरी कोरोना महामारीका कारण भारतबाट फर्केकाहरु यति गाउँमा छन् । सधैजसो सुनसान हुने गाउँहरु यो वर्ष भने मानिसको चहलपहलले भए घर सबै भरीएका छन् । यहाँका विषेशगरी स–परिवार सहित भारतमा जाने, घरमा छोराछोरी र वृद्धवृद्धा बसाल्ने र उतैको आर्थिकले घरपरिवारको जोहो गर्ने संख्या आधा जति छन् । तिनीहरु यतिबेला सबै घर आउदा गाउँमा बाक्लो उपस्थिती छ ।

कोरोनाले समस्या सबैलाई गरिदिएको छ तर घर छोडेर बाहिरीएकाहरुलाई भने अलपत्र अवस्थामै पारिदिएको छ । घर आए, खाली रित्तो घर, खेतबारीको काम गरौं खेती लगाईएको छैन, कुनै काम गरौं अवस्था त्यस्तो छैन, उनीहरुलाई कोरोनाले विहान खाए बेलुका के खाने बेलुका खाए विहान के खाने भन्नेसम्म पुर्याईएको छ ।

यस झन बढी महिलाहरु प्रभावित भएका छन् । उनीहरुलाई अरु बेला भन्दा यो समयमा झन तनावमा पारीदिएको छ । यसले घरमा कलह, झगडा बाहेको विकल्प छैन, त्यसैले यि यस्तै नागरिकको लगत संकलन गरी उनीहरुको समस्या स्थानिय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्