काठमाडौं, ७ कात्तिक ।
फौजी जागिर बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्री रुपमा भने त्यती नै गाह्रो छ । आफ्नो परिवार भन्दा देशका लागि धेरै समय दिनुपर्ने हुन्छ ।
अझै दशैंको समयमा फौजीहरु परिवारसँग समेत भेट्न पाउँदैनन् ।
सात महिनादेखि कोरोना रोकथाम तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पाएका छैनन् । जोखिमभत्ता नपाएका प्रहरीले दशैंमा विदा पनि पाएका छैनन् । कोभिड व्यवस्थापनको जोखिम तथा चाडपर्वमा थप चुनौती हुने भएकाले प्रहरी प्रधान कार्यालयले बिदा दिन नसकिएको जनाएको छ ।
भत्ता र विदा नपाउँदा पनि प्रहरीहरु आफ्नो सेवामा भने कटिबद्ध छन् । तर, सरकारले घोषणा गरेकै सुविधा नपाउँदा समेत दुःख लागेको एक प्रहरीले बताए । ‘डिउटीमै खटिदा कोरोना समेत लाग्यो,’ एक प्रहरी भन्छन्,‘तर, सरकारले दिने भनेको खाजा खर्च समेत नपाउँदा दुःख लागेको छ ।’