काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले वियजा दशमी (दशैँ)ंका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा देखिएको छ । निशानछाप भित्रको उक्त नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेका छन् । नेपालको भूभाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो ।
उक्त नक्सा प्रचलनमा ल्याउन थालिएको थियो । नेपालले यी भूभाग समेटेर जारी गरेको नक्साप्रति भारतको भने असन्तुष्टि छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट भएको २७ घण्टा नवित्दै आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान ट्विटरमार्फत शुभकामना जारी गरेका हुन् ।
यसैबीच प्रधानमन्त्री ओलीले विजया दशमीको अवसरमा व्यक्त शुभकामनामा प्रयोग गरेको पुरानो नक्साप्रति कांग्रेसले आपत्ति जनाएको छ । संसदले पारित गरेको चुच्चे नक्साको स्थानमा प्रधानमन्त्रीले पुरानै नक्सा प्रयोग गरेपछि नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नक्सा असुरक्षित रहेको बताएका छन् । शर्मा ट्विटमा नेपाली भूमि नसमेटिएको नक्सा प्रयोगलाई सामान्य त्रुटि मान्न नसकिने जनाएका छन् ।