काठमाडौ, ७ कात्तिक
विवाद समाधानका लागि कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी अघि बढेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेर मिलाउने तयारी गरेका हुन् । मुख्यमन्त्री शाही विरुद्ध गत असोज २५ गते दर्ता भएको अविश्वास प्रस्ताव शुक्रबार बसेको नेकपा संसदीय दलले अस्वीकृत गरिदिएको छ।
अविश्वास प्रस्ताव अस्वीकृत भएपछि मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुकार नेपाल पक्षका नेतालाई समेत समेटेर पुनर्गठनबाट विवाद सल्टाउने तयारी गरेका हुन्। शुक्रबार अविश्वास प्रस्ताव फेल भए पनि शाहीले सांसदहरुलाई थप मनाउने प्रयास गरिरहेका छन् ।
अहिलेसम्म शाहीको पक्षमा १८ जना सांसद देखिएका छन्। शुक्रबारको बैठकमा १८ जना सांसद उपस्थित भएका थिए।
अरु सांसद पनि मुख्यमन्त्रीको पक्षमा आउनेक्रम जारी भएकाले त्यो संख्या अझै बढ्न सक्ने सांसद विन्दमान विष्टले बताए। मन्त्रिपरिषद पुर्नगठन गर्नेगरी नेपाल पक्षले यसअघि नै तीन जना नेतालाई मन्त्री बनाउनेगरी नाम प्रस्ताव गरिसकेको छ। जसमा मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाही मध्येबाट मन्त्री बनाउन नाम दिएको थियो। यस्तै माओवादी समूहबाट सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मा लगायत नेताहरुबाट मन्त्री बनाउने तयारी छ।