काठमाडौं, ९ कात्तिक ।
कर्णाली प्रदेशको विषयमा विवाद चुलिरहेको सत्तारुढ नेकपाभित्र अर्काे विवाद पनि देखिएको छ । पर्सामा नेकपाका कार्यकर्ताबीचको विवादले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सम्बन्धमा थप तिक्तता थपेको छ ।
झडपमा पूर्व माओवादी निकट मुकेश चौरसियाको मृत्यु भएको थियो । तर, प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले आनाकानी गरेको आरोप लगाएका छन्।
६ कात्तिकमा पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथग्रहण कार्यक्रममा भएको झडपमा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको थियो । तर, आक्रमण गर्नेमाथि मुद्दा चलाउन ढिला भएको भन्दै प्रचण्डले स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रचण्डको यो बिज्ञप्तीलाई धेरैले आश्चर्यका साथ हेरेका छन् ।
‘हत्याजस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले जारी गरेकाको विज्ञप्तिमा छ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले पनि दोषीमाथि कारबाहीको माग गरेका थिए । नेकपा अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताको आक्रमणमा आफ्नो समूहका नेता मारिएको प्रचण्ड–नेपाल पक्षको दाबी छ ।
झडपमा परेर मृत्यु भएका चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै शनिबार प्रदर्शन भएको थियो ।
जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सम्बोधन गर्दै नेकपाका नेता मातृका यादवले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका थिए।
प्रचण्डले पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भर्त्सना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारबाही गर्न माग गर्दै वक्तव्य जारी गरेको र कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गरेको पनि जनाएका छन् ।
प्रचण्डको यो बिज्ञप्तीले नेकपाभित्रको विवाद कुन तहमा पुगेको छ भन्ने पनि प्रष्ट पारेको छ ।