काठमाडौं, १० कात्तिक
परीक्षण घट्दा नयाँ संक्रमितको संख्या घटेको छ । तर, संक्रमणदर भने उच्च छ ।देशभर पछिल्लो २४ घन्टामा थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमितमध्ये काठमाडौं उपत्यकाका आठ सय ९४ जना रहेका छन् । यो अवधिमा पाँच हजार ६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दैनिक हुने गरेको पिसिआर परीक्षको तुलनामा यो अवधिमा निकै कमको परीक्षण भएको हो । परीक्षण घटेकाले संक्रमितको संख्या पनि कम भएको हो । योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५९ हजार आठ सय ३० पुगेको छ । यो अवधिमा देशभरबाट चार हजार पाँचजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
हालसम्म एक लाख १५ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर हाल ४३ हजार दुई सय ९३ जना सक्रिय संक्रमित छन् ।
संक्रमितमध्ये दुई सय ८५ जनाको आइसियूमा र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।