काठमाडौं, १५ कात्तिक । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका छन् । असोज महिनाको विभिन्न मितिमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागुऔषधको बिक्री वितरण र रोकथामका लागि लागुऔषधसहित व्यक्ति पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै डलर साट्ने बहानामा ठगी गर्ने समूहलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको लगायतका कामको उच्च मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनोट समितिले निजलाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७७ मा उल्लेखित व्यवस्थाअनुसार असोज महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका प्रत्यक्ष मातहतका कार्यालयबाट महिनाभरि उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीको नामावली माग गरी सिफारिस भई आएकामध्ये उत्कृष्ट कार्य गर्ने एक प्रहरी कर्मचारीलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट कार्यविधि २०७७ कार्यान्वयनमा ल्याइएको जनाएको छ । कार्यविधिकै व्यवस्थाअनुसार प्रत्येक महिना १५ प्रहरी कर्मचारी पुरस्कृत हुने गरेका छन् । असोज महिनामा पनि उत्कृष्ट कार्य गर्ने १५ प्रहरी कर्मचारी पुरस्कृत भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।